काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेका प्रश्नलाई अमेरिकाको सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने जनाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारको सहभागितामा टुंगो लागिसकेको विषय भएकाले नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने जनाए ।
एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै रहेको उनले बताए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने महतले जानकारी दिए ।
नेपाली जनतामाझ उठेका आशंकालाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकारसमक्ष पहल गरिराखेको भन्दै महतले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास समेत व्यक्त गरेका छन् ।
‘यो विषय कैयौं सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौं । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदार पनि आउँछन् । यो चाहिँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्छ । सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइँदैन भन्ने उल्लेख नै छ,’ महतले कार्यक्रममा भने ।
सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरू नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउँदै मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।