काठमाडौं – कम्युनिस्ट पार्टीहरूभित्र चर्किएको विवाद र असन्तुष्टिबाट वाक्क भएका नेताकार्यकर्ता विद्रोह गरेर नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण ओखलढुंगामा देखिएको छ ।
ओखलढुंगाको सुनकोसी मुलखर्क–६ पारामा ७५ जना नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अब पारा गाउँ कम्युनिस्टमुक्त भएको कांग्रेसको दाबी छ ।
सुनकोशी–७ का भीमबहादुर विक पनि २०४६ सालदेखि एमाले रहेपनि बिहीबार कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाको पारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले माधवकुमार नेपाल नअटाउने एमाले र रामबहादुर थापा ‘बादल’ नअटाउने माओवादी पार्टीमा कसैलाई उचित सम्मान नभएको बताए ।
एमाले र माओवादीका कार्यकर्तालाई कांग्रेसमा स्वागत गर्दै खतिवडाले आगामी निर्वाचनमा ओखलढुंगामा कांग्रेस पार्टी अत्याधिक बहुमतले जित्ने बताएका छन् ।
नेता खतिवडाले आसन्न महाधिवेशनमा २ वटा गुटमा लागेर व्यक्तिगत स्वार्थमा भन्दा पनि सक्षम र असल नेतृत्वलाई जिताउन आग्रह गरेका छन् । ‘दुई वटा गुटमा लागेर होइन, सक्षम र राम्रो नेतृत्वलाई निर्वाचित गर्न सकौं,’ उनले भने ।
नेता खतिवडाले भोलि शुक्रवारदेखि वडा अधिवेशन सुरु हुन लागेको भन्दै अधिवेशनलाई भव्य रूपमा आपसी मनमुटाव र तिक्तताहरु भुलेर नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
खतिवडाले कांग्रेसलाई ओखलढुंगाका जनताले जिताउँदा सडकदेखि राम्रा र ठूला विकासका कार्यक्रम भएको बताएका छन् । ‘बलबहादुर राईलाई अत्यधिक मतले विजयी बनाएर पठाउनुभयो । त्यसको प्रतिफल कटारी–ओखलढुंगा सडक पायौं । २०७० सालमा मलाई निर्वाचित गर्नुभयो । मैले सुनकोशीको पुल निर्माण गरें,’ उनले भने, ‘मेलुङ एकवारको बाटोको शुभारम्भ गरियो । जितेका सांसद आउँदैनन् तर म जिते पनि हारे पनि तपाईंहरूका बीचमा आउने गरेको छु ।’
कम्युनिस्टले मान्छे मार्दा कांग्रेसले बचाउँदै गएको नेता खतिवडाले बताए । ‘भूकम्पमा खाद्यान्न दियौं । कोरोनाका बेला स्वास्थ्य सामग्री बाँड्यौं । मर्न लागेकालाई औषधि गरेर हामीले बचायौं,’ उनले भने, ‘हामी कम्युनिस्टले मार्न खोजेका मान्छेलाई बचाउँदै गयौं । बचाउने कांग्रेस राम्रो कि ? मार्ने कम्युनिस्ट राम्रो ?’
उनले कम्युनिस्टले निर्वाचनका बेला आफूले जितेपछि देशलाई कोल्टे फेर्ने बनाउँछौ भनेपनि साढे ३ वर्षमा कम्युनिस्टहरू असफल भएर देशलाई उत्तानो पारेको बताए ।
‘त्यही कारण कम्युनिस्ट छाडेर कांग्रेसमा प्रवेश गरेका छन्,’ उनले भने, ‘स्कूल, खानेपानी, सडक बनायौं । कांग्रेसले जे बोल्छौं, त्यही गर्छौं । कांग्रेसले कसैलाई धोका दिँदैन ।’
कार्यक्रममा कांग्रेस नेताहरु रुद्र अधिकारी, कमल तामाङ, भोजकुमार श्रेष्ठ, कुमार श्रेष्ठ, दुर्गाकुमारी तामाङ, हुमबहादुर बिक, भीम गौतम, विष्णु मगर, कुमार मगर लगायतको उपस्थिति थियो ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।