काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतरका नेताहरुले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्याएका छन् ।
सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट १ जनाले मात्र उम्मेदवारी दिनुपर्ने बुझाइ रहेको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवासँग संस्थापन इतरका कुनै एउटा नेताले उनलाई चुनौती दिने विश्लेषणमा पुगे पनि उनीहरु एकअर्कालाई नेतृत्व स्वीकार गर्न तयार छैनन् ।
महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यताको अझै टुंगो लाग्न नसकेका बेला पछिल्लोपटक तोकिएको महाधिवेशन मिति के हुन्छ भन्ने निश्चित छैन तर पूर्व निर्धारित मिति तलमाथि नभए वडा अधिवेशन आउन अब केवल १० दिन बाँकी रहेको छ ।
अधिवेशन मिति नजिकिए पनि संस्थापन इतरबाट आकांक्षीको संख्या धेरै भएपछि नेता लक्ष्मणबहादुर बस्नेतले समझदारीको पहलका लागि सोमवार बैठक राखेका थिए । सभापतिका आकांक्षीहरु नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला बैठकमा सहभागी थिए ।
बैठकमा सभापतिका आकांक्षीहरुले संस्थापन पक्ष इतरबाट वडा अधिवेशनअघि नै एउटा उम्मेदवार बनाएर जानुपर्ने बताएका थिए । बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरु रहेका बताएका छन् ।
‘अहिलेको नेतृत्वका कारण कांग्रेस कमजोर भयो भन्ने निष्कर्ष हो भने त्यसबाट पार्टीलाई जोगाउन एउटा उम्मेदवार दिनुपर्यो,’ उनले भने, ‘१ जना मात्र उम्मेदवार बनाएर जाने कुरामा आकांक्षीहरु लचिलो देखिनुभएको छ ।’
वडा अधिवेशनअघि नै साझा उम्मेदवार तय गर्ने र त्यसका लागि छलफललाई अघि बढाउने समझदारी भएको जानकारी दिँदै उनले भने, ‘एक्लाएक्लै लडेर देउवालाई परास्त गर्न सकिँदैन । त्यसका लागि एकताको विकल्प छैन भन्ने भएको छ ।’
‘पहिलो कुरा त अधिवेशनको सुनिश्चितता नै हो । अधिवेशन समयमै गर्नुपर्छ । त्यसका लागि आवश्यक तयारीमा जुट्न सबैलाई आग्रह गर्ने कुरा हो,’ उनले भने, ‘त्यससँगै हाम्रो समूहबाट १ जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भयो । आजबाट कम्तीमा त्यो विषयमा पनि छलफल सुरू भएको छ ।’
धेरै उम्मेदवार बन्ने कुराले वडा अधिवेशनदेखि नै नेतृत्व चयन प्रभावित हुने बताउँदै एकताको सन्देश दिनुपर्नेमा जोड दिँदै केसीले भने, ‘वडा अधिवेशनअगावै १ जना मात्रै उम्मेदवार तयार गर्नुपर्छ भन्नेमा नेताहरुको जोड छ ।’
तर बैठकमा सहभागी सभापतिका आकांक्षीहरुले आ–आफ्ना दाबी र कन्डिसनहरु राखेका थिए ।
आकांक्षी सबैले विगतमा जस्तै आफू नै सबैभन्दा बलियो र प्रभावशाली भएको पुष्टि गर्ने प्रयास गर्दै सहमति निर्माण भए आफू बाधक नबन्ने दाबी गरेका थिए तर संस्थापन इतरबाट एकभन्दा बढी उम्मेदवार बने आफूले पनि सभापतिमै उम्मेदवारी दिने धारणा नेताहरुले राखेका थिए । नेता महत, अर्जुननरसिंह केसी, सुजाता कोइरालाले साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै त्यस्तो अवस्था नभए आफू पनि नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताएका थिए ।
महामन्त्री शशांक कोइराला पार्टी नेतृत्वका लागि आफू सबैभन्दा बलियो उम्मेदवार भएको जिकिर गर्दै सहमति निर्माण हुँदा आफू बाधक नबन्ने तर्क गरेका थिए । नेता शेखर कोइरालाले देशभरका नेता तथा कार्यकर्ताको समर्थन आफूलाई रहेको दाबी गरेका थिए । नेताले भन्दा जिल्ला तहका नेता तथा कार्यकर्ताले जसलाई भन्छन्, आगामी महाधिवेशनमा उही उम्मेदवार बन्नुपर्ने उनको तर्क रहेको थियो ।
सभापतिका आकांक्षीले उम्मेदवार नबनभन्दा आफू पछि नहट्ने तर जिल्ला सभापति सहितका तल्लो तहका नेता तथा कार्यकर्ताको कुरा भने आफूले मान्ने तर्क उनले गरेको स्रोतको दाबी रहेको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहले आफू सभापतिका लागि दृष्टिकोणले सक्षम रहेको जिकिर गरेका थिए ।
नेता तथा कार्यकर्ताका बलियो समर्थन आफूलाई रहेको भन्दै सिंहले सरकार, संसदसहित विभिन्न ठाउँमा पावर शेयर गरेर भए पनि आकांक्षीहरुबीच एकता गर्नुपर्नेमा जोड दिएको स्रोतको दाबी रहेको छ ।
नेता पौडेलले आफ्नो उमेर र योगदान सबै दृष्टिकोणबाट आगामी महाधिवेशनमा नेतृत्वका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । बैठकमा संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन सुरू हुन १० दिन मात्र बाँकी रहँदा क्रियाशील सदस्यताको टुंगो लाग्न नसकेको जनाउँदै सभापतिका आकांक्षीहरुबीच पनि तल्लो तहको अधिवेशनका विषयमा मत भिन्नता देखिएको थियो ।
जिल्ला सभापतिहरुको मागअनुसार छानबिन समितिले सदस्यताको टुंगो लगाएपछि त्यसमाथि दाबी–विरोधका लागि समय चाहिने र १८ गतेदेखि अधिवेशन गर्नैपर्ने अडान राख्न नहुने तर्क केही नेताले गरेका थिए । सदस्यताको विषय जस्ताको तस्तै छाडेर पार्टी महाधिवेशन हुने कुराबाहेक अन्य कुरा सुनिश्चित नहुने भन्दै विधि र प्रक्रिया मिचेर थपिएका सदस्य हेर्न वडाले पठाएको नामको रुजु गर्नुपर्ने र त्यसका लागि पनि केही समय लाग्ने भएकाले तल्लो तहको अधिवेशन केही समय सार्नुपर्ने धारणा उनीहरुको थियो तर नेता पौडेलले भदौ १८ गतेदेखि नै वडा अधिवेशन हुनुपर्ने अडान राखेका थिए ।
क्रियाशील सदस्यताकै कारण महाधिवेशन स्थगित गर्नुपर्ने अवस्था आउन दिन नहुने भन्दै जिल्ला सभापतिहरूको मागअनुसार तत्काल क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने निष्कर्षमा उनीहरु पुगेका थिए । चाँडोभन्दा चाँडो सदस्यताको टुंगो लगाएर महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने भन्दै नेता केसीले भने, ‘पहिलो कुरा त अधिवेशनको सुनिश्चितता नै हो । अधिवेशन समयभित्रै गर्नुपर्छ । त्यसका लागि क्रियाशील सदस्यता टुंगो लगाएर सार्वजनिक हुनुपर्यो ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।