काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको छ ।
लुम्बिनी प्रदेशसभा सदस्यद्वय विमलाकुमारी खत्री वली र अजय शाहीमाथि एमालेले गरेको कारवाहीलाई प्रदेश सभाले मान्यता नदिएकोमा एमाले आक्रोशित बनेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आईतवार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ गते र जेठ ३० गते एमाले संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरेका छन् । एमाले संसदीय दलको सदस्यका हैसियतले नै बैठकमा दुबै जना सहभागी भएको ढकालको जिकिर रहेको छ ।
एमाले संसदीय दलले प्रदेशसभा सचिवालयले सांसद द्वयको सन्दर्भमा कारवाही गर्न नमिल्ने जिकिरसहित पठाएको पत्रबारे समेत ढकालले आपत्ति जनाएका छन् । सभामुख घर्तीको भूमिकामाथि प्रश्न उठाउँदै ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरूलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेश सभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत रहेको छ ।’
ढकालले सभामुख घर्तीले राजीनामा दिनुपर्ने माग समेत गरे । ‘प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकाले स्वतः पद अनुकुलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन,’ ढकालले भनेका छन् ।
ढकालले विमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेशसभा सदस्यबाट निष्काशन नगर्दासम्म एमालेले संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।