काठमाडौं - यतिबेला एमाले विभाजनको डिलमा छ । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाही गरेपछि अब वार कि पारको अवस्था देखिएको छ । यद्यपि नेता नेपालले ओलीलाई एक चान्स दिने बताएका छन् ।
तर नेपाल पक्ष जतिसुकै लचक र नरम भए पनि ओली झुक्ने पक्षमा छैनन् । त्यसैले एमाले विभाजन भएरै छाड्ने विश्लेषण गर्न थालिएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरिदिइनन् भने के हुन्छ ? त्यो अर्कै पाटो हो ।
तर पनि अब एमालेमा ओली र नेपाल सँगै रहलान् भन्ने आशा भने कमजोर बन्दै गएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसमाथि निरन्तर आक्रमण भइरहेको छ । मानौं, यो देशमा गलत गर्ने सबै देउवा हुन् । उनले नै पहिलोचोटि यो अध्यादेश ल्याउन लागेका हुन् ।
गत वर्ष नै केपी ओली प्रधानमन्त्री हुँदा उनले आफ्नै पार्टी नेकपा र तत्कालीन संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । भलै त्यसबेला उनको मिसन पूरा नहुने देखिएपछि उनले पछि फिर्ता लिएका थिए ।
तर अहिले एमालेकै माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुरको पक्षमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको तथ्य सार्वजनिक भइसकेको छ । तर, नेपाली कांग्रेसको हुर्मत भने लिन छाडिएको छैन ।
यो देशमा कांग्रेस बलियो भएको देख्न नचाहने शक्ति अहिले कांग्रेस कमजोर बनाउन हात धोएर लागिपरेको छ । त्यसैले एमाले विभाजन गर्न पनि कांग्रेसको हात रहेको भन्दै आलोचना गर्न थालिएको छ ।
यसअघि २०५४ सालमा पनि एमाले विभाजन भएको थियो । त्यसबेला पनि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र नेता खुमबहादुर खड्कामाथि एमाले विभाजनको दोष लगाइएको थियो । अहिले त्यो आरोप देउवामाथि लगाउन थालिएको छ । आफ्नो पार्टी बलियो राख्न नसक्ने, अनि कांग्रेसमाथि आक्रमण गर्ने भन्दै अहिले कांग्रेसका शुभचिन्तक र बुद्धिजीवी आक्रोशित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।