काठमाडौं – नेपाली कांग्रेस प्रभावशाली युवा नेता, खेलकुद विभाग सचिव, तरुण दल पूर्व केन्द्रीय सदस्य मीनकृष्ण महर्जनले तरुण दलका कार्यकर्ताहरूलाई प्रयोगको रूपमा नलिन नेताहरूलाई आग्रह गरेका छन् ।
ललितपुरको तरुण दल गोदावरी नगर कमिटी वडा नम्बर १० मा सम्पन्न तरुण दल कमिटी विस्तार गर्ने क्रममा मन्तव्य दिँदै उनले कार्यकर्ताका समस्या बुझ्न नेतृत्वलाई आग्रह गरे ।
‘पार्टीलाई अप्ठ्यारो पर्दा, आन्दोलन गर्नु पर्दा चुनावको समयमा युवाहरू परिचालन गर्नु पर्दा, विपक्ष पार्टीसँग सामना गर्नु पर्दा यही तरुण दल चाहिने अनि नेताहरू कुर्सीमा पुग्दा तरुण दलका कार्यकर्तालाई बिर्सिने परम्पराले गर्दा आज कांग्रेस पार्टीको यस्तो हविगत भएको छ,’ नेता महर्जनले भने ।
नेतृत्वको व्यवहार देखेर तरुण दलका कार्यकर्ता निराश भएका नेता महर्जनले बताए । ‘नेतृत्वका कारण तरुण दलका कार्यकर्ता एकदम निराशापनको अवस्थामा छन् । किनकि नेताहरूले कार्यकर्ता प्रयोग मात्र गर्न थाले, अप्ठ्यारो पर्दा, समस्यामा पर्दा, दुःख पर्दा, नेताहरूले बेवास्ता गर्न थाले, रगत छउञ्जेल जुम्राले रगत चुसे जस्तो चुसेको चुस्यै गर्ने, रगत सकिएपछि छाड्दै जाने प्रवृत्तिले गर्दा यत्रो इतिहास बोकेको पार्टी खुम्चेर संसदीय निर्वाचनमा २३ सिटमा सीमित हुनुपरेको छ,’ नेता महर्जनले भने ।

तानाशाह, भ्रष्टाचारमा लिप्त काण्डैकाण्डको कम्युनिस्ट सरकारका कारण फेरि एकचोटी सत्ता कांग्रेसको हातमा आएपनि कार्यकर्ताका गुनासा बिर्सन नहुने उनले बताए । ‘नेताहरूको आचरण अहिले पनि पहिलेको जस्तो नातावाद, कृपावाद, चाकडीवादमा नेताहरू सीमित हुने हो भने र नेताहरूले कुन कार्यकर्ताको कति क्षमता छ भनेर कार्यकर्ताको पहिचान गर्न नसक्ने हो भने नेपाली कांग्रेस पार्टी इतिहासमा मात्र सीमित रहनेछ,’ उनले भने ।

आज शनिबारको तरुण भेलामा गोदावरी नगरपालिका–१० मा १०१ जनाको तरुण कमिटी गठन गरिएको छ ।

नेता महर्जनले युथफोर्स र वाईसीएललाई तरुण दलसँग नजिस्किन समेत चेतावनी दिए । ‘तरुण दल भनेको बारुद हो, बारुद चलायो भने पड्किन्छ,’ उनले भने, ‘त्यसैले तरुण दलसँग कोही नजिस्किनुहोला ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।