शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कहाँ अड्कियो मन्त्री नियुक्तिको काम ? कांग्रेस र माओवादीभित्र यी नेताबीच भिडन्त !

कहाँ अड्कियो मन्त्री नियुक्तिको काम ? कांग्रेस र माओवादीभित्र यी नेताबीच भिडन्त !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २९ २०७८

  • 4.6K
    SHARES

  • कहाँ अड्कियो मन्त्री नियुक्तिको काम ? कांग्रेस र माओवादीभित्र यी नेताबीच भिडन्त !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

    देउवा प्रधानमन्त्री बनेको १ महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच मन्त्री बन्न चाहनेहरूबीच घमासान भिडन्त भइरहेकाले मन्त्री चयनमा असहजता देखिएको छ ।

    संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक भएपछि मन्त्रिपरिषद् विस्तार हुने भनिएको थियो तर कार्यक्रम सार्वजनिक भइसक्दा समेत मन्त्री नियुक्तिमा कुनै सुरसार छैन ।

    नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई सरकारमा ल्याउन ढिलाइ भइरहेको बताउने गरिएको छ । तर नेपाल पक्षले पार्टी एकतामै जोड दिने र सरकारमा सहभागी नहुने निष्कर्ष सुनाउँदै आएको छ । यी विविध कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

    नेपाली कांग्रेसको महाधिवेशनको विवादका कारण समेत मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन सार्ने निर्णय गराएपछि मात्रै मन्त्री नियुक्त गर्ने स्रोतले जनाएको छ । 

    सरकारमा उपप्रधानमन्त्री बनाउने कि नबनाउने ? कति बनाउने ? यो विषयले समेत सत्तारुढ गठबन्धनमा विवाद देखिएको छ । देउवा नेतृत्वको सरकारमा सत्तारुढ पार्टीका शीर्ष नेता नै उपप्रधानमन्त्रीसहित सहभागी हुन खोजेका छन् । तर देउवाले धेरै उपप्रधानमन्त्री नबनाउने सोच बनाएकाले झमेला भएको स्रोतले जनाएको छ ।

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेत्री सुजाता कोइराला उपप्रधानमन्त्रीसहित सरकारमा जान चाहन्छन् । माओवादीमा उपप्रधानमन्त्री खाइसकेका नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराबीच सरकारमा जाने विषयमा भिडन्त चलेको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव नै उपप्रधानमन्त्रीसहित सरकारमा जान चाहन्छन् । तर जसपामा उपेन्द्रलाई सरकारमा नपठाउने पक्ष समेत देखिएको छ । जसपामा हरेकपटक उपेन्द्र यादव नै सरकारमा जानु उचित नभएकाले नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जानुपर्ने अडान डा. बाबुराम भट्टराई पक्षको रहेको छ ।

    पार्टीका शीर्ष नेताहरूबीच नै विवाद देखिन थालेपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैलाई पनि उपप्रधानमन्त्री नबनाएर भिडन्त मत्थर पार्न खोजेका स्रोतले जनाएको छ ।

    सत्तारुढ दलहरूबीच अझै मन्त्रालयको भागबण्डा समेत टुंगिएको छैन । संविधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने प्रावधान छ । जसअनुसार प्रधानमन्त्रीसहित २२ मन्त्री र ३ राज्यमन्त्री बन्न पाउँछन् । जसमध्ये प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् बनिसकेको छ । अब बाँकी १९ मन्त्री मात्रै बन्न पाउँछन् । बाँकीमा कांग्रेसले ७, माओवादीले ६ र जसपाले ७ मन्त्रालय दाबी गरेका कारण कुरा मिल्न सकिरहेको छैन । 

    सत्तारुढ पार्टीभित्र मन्त्रीका आकांक्षी समेत धेरै देखिएका छन् । कांग्रेसमा प्रकाशमान, सुजाता, नारायण खड्का, दिलेन्द्र बडू, भीमसेनदास प्रधान, मिनेन्द्र रिजाल, बिनोद चौधरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, मीन विश्वकर्मा, भरत शाह, बहादुरसिंह लामा, तेजुलाल चौधरी, डिला संग्रौला, सञ्जय गौतम मन्त्रीका दाबेदार छन् ।

    माओवादी केन्द्रमा श्रेष्ठ, महरा, मात्रिका यादव, गिरिराजमणि पोखरेल, शशी श्रेष्ठ, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, हरिराज अधिकारी, अञ्जना विशंखे, हितबहादुर तामाङ, र कमला रोका मन्त्रीका दाबेदार छन् ।

    जसपामा यादव, श्रेष्ठ, इस्तियाक राईसहित अधिकांश सांसद मन्त्रीका दाबेदार रहेका छन् ।

    सरकारमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ सरकारमा सहभागी छन् ।

    माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सरकारमा सहभागी छन् । जसपाले सरकारमा मन्त्री पठाउन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend