काठमाडौं – नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार बन्ने भएको छ ।
पोखरेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म बहुमतको दाबी पेश गर्न आह्वान गरिसकेका छन् ।
कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादी नेता कुलप्रसाद केसी बन्ने भएका छन् ।
प्रदेशसभाको बाँकी १६ महिने कार्यकालमध्ये ८ महिना केसी मुख्यमन्त्री हुने र त्यसपछिका ८ महिना नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री हुने सहमति भएको छ ।
सम्भवतः भोलि नै मुख्यमन्त्री बन्ने केसी नेतृत्वको गठबन्धन सरकार १० सदस्यीय हुने सहमति जुटेको स्रोतले जनाएको छ ।
सहमतिअनुसार माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानून मन्त्रालयसहित ३ मन्त्रालय लिने भएका स्रोतको दाबी छ । बाँकी रहेका ४ मन्त्रालयमा गठबन्धनमा भागबण्डा हुनेछ ।
गठबन्धनमा केसीको पक्षमा कूल ४१ सांसद खुलेका छन् । जसमा कांग्रेसबाट १९ जना, माओवादीबाट १८ जना, जसपाबाट ३ जना र जनमोर्चाबाट १ जना छन् ।
प्रदेशको मुख्यमन्त्री केसी हुने भएपछि माओवादीबाटै सभामुख पूर्ण घर्ती र प्रदेश प्रमुख अमिक शेरचन रहेका छन् । प्रदेशका सबै प्रमुख पदमा माओवादीकै कब्जा हुने देखिएको छ । नयाँ प्रदेश प्रमुख आउनुअघि प्रदेश प्रमुख र मुख्यमन्त्री एमालेका थिए भने सभामुख माओवादीका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।