काठमाडौं – लुम्बिनी प्रदेशमा अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनबाट मुख्यमन्त्री बन्ने भएको छ ।
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा भोलि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनाले सार्वजनिक आह्वान गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहीवार बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको जनाएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरिएको हो । लुम्बिनीमा अब गठबन्धन सरकार बन्ने भएको छ ।
लुम्बिनी प्रदेशका प्रमुख दलहरू कांग्रेस र माओवादीले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् । प्रदेशसभा कार्यकालका १६ महिनामध्ये ८ महिना केसी र बाँकी ८ महिना कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
प्रदेश प्रमुखबाट आह्वान भएको समयसीमाभित्रै दाबी पेश गर्न कांग्रेस–माओवादी गठबन्धनले तयारी गरिरहेको छ ।
पछाडि फर्केर हेर्दा नेपाली राजनीति लामो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारको शिकार भयो । ओलीकै सिको गर्ने मुख्यमन्त्री शंकर पोखरेलको अहंकारबाट लुम्बिनी प्रदेश समेत प्रभावित भयो ।
प्रदेश सभामा बहुमत गुमाइसकेको स्पष्ट थाहा भएपछि मुख्यमन्त्री शंकर पोखरेलले अध्यादेशबाट बजेट ल्याए । संसदको विश्वास गुमाइसकेपछि पनि सत्तामा टिकिराख्नु अनैतिक, अहंकारी र निरंकुश कदम थियो ।
तत्कालीन प्रदेश प्रमुखलाई आफ्नो इशारामा चलाएर मुख्यमन्त्री पोखरेलले अहंकार प्रदर्शन गरिरहेका थिए । तर संघमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि प्रदेश प्रमुखमा अमिक शेरचन आए । जसले गर्दा शंकर पोखरेलको दादागिरी चलेन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) सम्मिलित विपक्षी गठबन्धन प्रक्रियाअनुसार अगाडि बढ्यो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो र प्रदेश प्रमुखबाट विशेष अधिवेशन आह्वान भयो ।
बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । उनले संसदबाट पराजित भएर कुर्सी छाड्नुभन्दा राजीनामा दिने विकल्प रोजे । राजीनामासँगै शंकर पोखरेलको सबै खेल खत्तम भयो ।
यस्तो छ प्रदेश प्रमुखको आह्वान –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।