काठमाडौं – लुम्बिनी प्रदेशसभा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयलाई पर्खिने निर्णय गरेको छ ।
विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारी गरिरहेका बेला एमालेले अदालत पर्खिने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आह्वान भएर आज बुधबार सभामा पेश हुँदैछ । तर एमालेले अधिवेशन बहिष्कार गर्ने संकेत गरेको छ ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसैअनुसार के गर्ने भन्ने निर्णय हुने जानकारी दिए । मुख्यमन्त्री पोखरेलको राजीनामाबारे बैठकमा कुरा नउठेको प्रवक्ता चौधरीले बताएका छन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता अविश्वास प्रस्ताव खारेज गर्न माग गर्दै एमाले सांसद लिला गिरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । रिट मंगलबार ‘हेर्न नभ्याइने’ भएपछि आज बुधबार सुनुवाइ हुने कार्यसूची रहेको छ ।
बुधबार बिहान मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बठकले प्रदेश सभाको कार्य व्यवस्था समितिलाई छलेर बैठकको कार्यसूची प्रकाशन गरेको भन्दै असहमति समेत जनाएको छ ।
प्रमुख सचेतक भूमिश्वर ढकालले बुधबार दिउँसो १ बजे बस्ने विशेष अधिवेशनमा भाग लिने कि नलिने भन्ने थप छलफल गरेर निर्णय गरिने जानकारी दिए । ‘भावी कदमबारे निर्णय लिने अधिकार दलका नेता तथा मुख्यमन्त्री पोखरेललाई दिइएको छ,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।