काठमाडौं – गण्डकी प्रदेशबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेस पार्टीबाट सरकारको नेतृत्व गर्न सुरु गरेका थिए । त्यसपछि केन्द्र सरकारमै पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका छन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेश र २ नम्बर प्रदेश सरकारमा सहभागी भइसकेको छ । अब यसै प्रदेशसभा कार्यालयभित्र लुम्बिनी प्रदेशमा समेत कांग्रेस नेतृत्वको सरकार बन्ने भएको छ ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउने प्रयास गरिरहेको विपक्षी गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गोप्य सहमति जुटेको छ । अहिलेको प्रदेश सभाको कार्यकाल १६ महिना बाँकी रहेकाले कांग्रेस र माओवादीले ८/८ महिना सरकारको नेतृत्व गर्नेछन् ।
मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्तावबाट हटाउन विपक्षी गठबन्धनले अन्तिम तयारी गरिरहेको छ । अविश्वासको प्रस्तावसँगै माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । सहमति अनुसार गठबन्धनबाट केसी पहिलो मुख्यमन्त्री बन्नेछन् भने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया ८ महिनापछि मुख्यमन्त्री बन्न पाउने छन् ।
मुख्यमन्त्री शंकर पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री बनेका थिए । पोखरेल सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन बुधवारदेखि शुरू हुँदैछ । पोखरेलविरुद्ध साउन १९ गते तेस्रोपटक संविधानको धारा १८८(४) र लुम्बिनी प्रदेशसभा नियमावली २०७४ को नियम १४४(१) बमोजिम अविश्वासको प्रस्ताव गरिएको छ ।
पहिलोपटक वैशाख ६ र दोस्रो पटक वैशाख २६ गते पनि पोखरेलविरुद्ध विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर पोखरेलले जालझेल गरेर त्यसलाई अगाडि बढ्न दिएका थिएनन् ।
यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि बढ्ने भएको छ । सत्तापक्षीय सांसदले भोलि बुधबारका लागि बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’ भएपछि भोलि बैठक बस्ने भएको हो । बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढ्नेछ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्मिलित विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ । यस्तो बेला मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभाबाट पारित हुने चर्चा छ ।
सरकार ढल्नै लाग्दा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले दलको बैठक बोलाएका छन् । बुधबार बिहान बस्ने दलको बैठकमा एमालेको रणनीतिबारे छलफल हुने जनाइएको छ ।
बुधबार बिहान मुख्यमन्त्री निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको नेता बैजनाथ चौधरीले बताएका छन् ।
प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको जनाइएको छ । दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने टुंगो लगाउने स्रोतले जनाएको छ ।
तर एमालेले एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने जिकिर गर्दै आएको छ । यस्तै जिकिरसहित सर्वाेच्चमा मुद्दा दायर भएकाले मुद्दाको किनारा नलाग्दासम्म अधिवेशन अगाडि बढाउन नपाइने भन्दै संसद अवरोध गर्नसक्ने समेत स्रोतले जनाएको छ ।
संसदमा बहुमत नरहेको देखेपछि यसअघि पोखरेल सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । विपक्षीले पोखरेलले बहुमत गुमाइसकेको आरोप धेरै पहिल्यैदेखि लगाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।