काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति नजिकिँदै गर्दा शीर्ष नेतृत्वले महाधिवेशन सार्ने तयारी गरेको छ ।
आगामी भदौ १६–१९ गतेसम्म महाधिवेशनको मिति तोकिएपछि क्रियाशील सदस्यता विवाद नै अन्त्य नभएकाले महाधिवेशन हुने देखिँदैन । यस्तो बेला सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले महाधिवेशन सार्ने सहमति गरेका छन् ।
गत साउन ९ गते बसेको पार्टी पदाधिकारी बैठकले साउन १२ गतेदेखि तोकिएका वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।
आगामी भदौ २३ गतेभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै कतिपयले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । तर सभापति देउवा र महामन्त्री कोइरालाले महाधिवेशन पनि सार्ने र पार्टी पनि जोगाउन उपाय निकालिसकेका छन् ।
सामान्य संवैधानिक र कानूनी प्रावधान हेर्ने हो भने २०७२ फागुन २३ गते १३औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले आगामी भदौ २३ गते ५ वर्ष ६ महिना पूरा गर्छ । नेपालको संविधानको धारा २७९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने बाध्यता रहेको छ ।
कोरोना भाइरस संक्रमणको महामारीलाई देखाएर कांग्रेसले महाधिवेशन सार्दै आएको छ । यस्तै बेला फेरि कोरोनाको महामारी बढिरहेकाले निर्धारित मितिमा महाधिवेशन हुन नसक्नेमा सभापति र महामन्त्री सहमत भएका छन् । सभापति देउवा प्रधानमन्त्री समेत बनेकाले सरकार सञ्चालनमा व्यस्त देखिएका छन् ।
पार्टी महाधिवेशन सार्नेबारे सभापति देउवाले अप्रत्यक्ष रूपमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबाट सहमति लिइसकेका छन् । महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री ज्ञानेन्द्र कार्कीले प्रतिनिधिमार्फत महाधिवेशन सार्न सकिने उपायबारे थपलियासँग परामर्श लिएका हुन् ।
साउन १५ गते कांग्रेस नेता रामहरि खतिवडा र बहादुरसिंह लामाले निर्वाचन आयोगमै प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर महाधिवेशन सार्न सकिने उपायबारे छलफल गरेका छन् । छलफलमा थपलियाले कोरोना महामारीमा लकडाउन भएको बेलालाई सर्वाेच्च अदालतले नै शून्य अवधि मानेकाले महाधिवेशन सार्न सकिने परामर्श दिएका स्रोतले जनाएको छ ।
पार्टी महाधिवेशन सार्नेबारे कानूनमन्त्री कार्कीले समेत कानून मन्त्रालयका सचिव, प्रमुख निर्वाचन आयुक्त सहिताका पदाधिकारी र महान्यायाधीवक्तासँग परामर्श गरिसकेका छन् । विभिन्न व्यक्तिसँगको परामर्शपछि सभापति देउवा महाधिवेशन सार्ने निष्कर्षमा पुगेका छन् ।
महामन्त्री कोइरालाले समेत सचिवालयमार्फत महाधिवेशन सार्ने विकल्पबारे छलफल गरेका छन् । साउन १६ गते दिउँसो कोइरालाका स्वकीय सचिव भरत तिवारीले निर्वाचन आयोग गएर प्रमुख निर्वाचन आयुक्त थपलियासँग छलफल गरेका छन् । छलफलमा थपलियाले महाधिवेशनका लागि पार्टीले थप समय मागेमा आफूले बाधा नपुर्याउने जवाफ दिएका स्रोतको दाबी छ ।
कानूनी परामर्शपछि आगामी मंसिरसम्म महाधिवेशन सार्ने निष्कर्षमा सभापति देउवा र महामन्त्री कोइराला पुगेका छन् । अझै ४ महिना कांग्रेस महाधिवेशन सर्ने भएको छ ।
आगामी साउन २८ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्ने तयारी रहेको स्रोतको दाबी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने तोकिएकै मितिमा महाधिवेशन गर्न देउवालाई दबाब दिइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।