काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बदनाम भएर सत्ताबाट बाहिरिएका छन् । ओली बदनाम हुने अनेक कारणमध्ये एक थियो – हेलिकप्टरमा चढेर उद्घाटनका नाममा विभिन्न ठाउँ घुम्नु ।
ओलीले गलत गरेको भन्दै उनीविरुद्ध बनेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा पुगेपछि अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीको सिको गर्न थालेका छन् ।
प्रचण्ड नेतृत्वको माओवादी पार्टी सरकारमा गएपछि उनी हेलिकप्टर चढेर घुम्न थालेका छन् । मनाङ जिल्लामा बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड हेलिकप्टर चढेर शनिबार मनाङ पुगेका छन् ।
प्रचण्डको कृपाले देउवा सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उनलाई सरकारी पावरको दुरुपयोग गर्दै हेलिकप्टरमा मनाङ घुमाएकी छन् । प्रचण्ड हेलिकप्टरमा घुम्दा लाखौं खर्च हुने भएको छ भने बाढीपहिरो पीडित जनताले केही पाउने देखिँदैन ।
गत असार १ गतेको बाढीपहिरोले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा प्रचण्डको टोली मनाङ पुगेको छ । मनाङका विभिन्न स्थानमा पुर्याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय खोज्न प्रचण्ड मनाङ पुगेका स्रोतको दाबी छ ।
हेलिकप्टरमा गएको भ्रमण टोलीमा पूर्व प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री भुसाल, पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुख लगायत रहेका छन् ।
टोलीले मनाङको ङिस्याङ गाउँपालिकास्थित तिमाङ, चामे गाउँपालिकाको चामे, नासो गाउँपालिकाको दानाक्यु, तिल्चेताल लगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन् ।
राजनीतिक नेताले पीडितलाई राहत दिनुको सट्टा हेलिकप्टरमा घुमफिर गर्नुलाई कतिपयले पीडितको घाउमा नूनचुक गर्नुजस्तै भएको बताउँछन् । माओवादी पार्टी सरकारमा गएपछि प्रचण्डले सरकारी स्रोतसाधनको दुरुपयोग गर्न थालेपछि देउवा सरकारकै आलोचना हुने समेत बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।