काठमाडौं – नेपाल प्रहरीका १४ जना पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका कर्तुत उल्ट्याउन एकजुट भएका छन् ।
बुधवार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ जना नेपाल प्रहरीका पूर्व प्रमुखले ओलीको निर्णय उल्ट्याइदिन बिन्ती गरेका छन् ।
प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) लाई काभ्रेमा सार्ने ओली सरकारको निर्णय बदर गर्न आग्रह गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई बालुवाटारबाट हटाउने निर्णय गरेपछि सर्वत्र विरोध भएको थियो । तर ओली सरकारले निर्णय परिमार्जन गरेको छैन ।
राष्ट्रपति कार्यालयलाई विस्तार गर्न एकेडेमी हटाउने निर्णय ओली सरकारले गरेको थियो । जसको नेपाल प्रहरीका पूर्व आईजीपीले विरोध गर्दै आएका थिए ।
पूर्व आईजीपी मोतिलाल बोहराको संयोजकत्वमा १४ जना पूर्व आईजीपीको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् ।
प्रहरी संगठनको भावनात्मक सम्बन्ध भएको ठाउँबाट एकेडेमी हटाउन नहुने निष्कर्षसहित प्रधानमन्त्री देउवालाई भेटेको बोहराले जानकारी दिए ।
कृष्ण शम्शेरको घोडा तबेलामा स्थापना भएको नेपाल पुलिस एकेडेमीमा भावनाहरु गाँसिएका बताउँदै उनले त्यहाँबाट एकेडेमी हटाउने निर्णयलाई खारेज गर्न प्रधानमन्त्री देउवासँग माग गरेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।