काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उपसभापति बिमलेन्द्र निधिले आफू सभापति पदमा लड्ने भएकाले खोल्न लागेको सम्पर्क कार्यालय उद्घाटन गर्न निम्तो दिएका छन् ।
मंगलबार साँझ बालुवाटारमै पुगेर उपसभापति निधिले देउवालाई भेटेका हुन् । भेटमा निधिले संस्थापन पक्षबाटै आफू सभापतिको उम्मेदवार बन्ने भएकाले सहयोग गर्न आग्रह गरे ।
सभापति देउवाले पनि फेरि सभापति बन्न चाहेका बेला निधि अर्कैतिर लागेपछि देउवा असन्तुष्ट छन् । असन्तुष्ट देउवालाई फकाउन कोसिस गर्दै निधिले सम्पर्क कार्यालय उद्घाटनको निम्तो दिएका छन् ।
नेपाली कांग्रेसको निर्धारित १४औं महाधिवेशन आउन अब २९ दिन मात्र बाँकी रहेको छ । देउवा र निधिले सभापतिमा लड्न छुट्टाछुट्टै तयारी गरिरहेका छन् । सभापतिको प्रतिस्पर्धामा जानुअघि निधि देउवा पक्षमै रहेका थिए ।
मंगलवार बालुवाटारमा देउवालाई भेटेर निधिले भने, ‘म सभापति उठ्ने भएकाले तपाईंको सहयोग चाहिएको छ । सम्पर्क कार्यालय खोल्दैछु, उद्घाटनमा आइदिनुपर्यो ।’
सभापति देउवा र उपसभापति निधिबीच एक्लाएक्लै कुराकानी भएको स्रोतले जनाएको छ । जवाफमा देउवाले निधिलाई यसपालि सभापति नलड्न र आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यसपालि मेरो उम्मेदवारी अन्तिम पटक हो । यसपटक सघाउनुस्, त्यसपछि तपाई नै त हो नि ! म अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन । मलाई अहिले सहयोग गर्नुस्, अर्कोपटक तपाईलाई सहयोग गर्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।