काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई बराबर हैसियत मिलेको छ ।
सरकारमा दुबै दललाई ७/७ मन्त्रालय दिने सहमति सत्तारुढ गठबन्धनभित्र जुटेको छ ।
नेपाली कांग्रेसले ८ मन्त्रालय राखेर माओवादी केन्द्र र जसपालाई ७/७ मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
गठबन्धन निर्माणमा निर्णायक शक्ति मानिएको दाबी गर्दै २० सांसद रहेको जसपाले ४७ सदस्यीय माओवादीसरह मन्त्रालयमा भागबण्डा पाएको छ ।
प्रतिनिधिसभा संसदमा कांग्रेसका ६१ सांसद रहेका छन् । कांग्रेसले ८ मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।
प्रधानमन्त्री देउवाले अर्थ र ऊर्जा मन्त्रालय माओवादीलाई दिएका छन् भने गृह र सञ्चार मन्त्रालय कांग्रेससँगै राख्ने भएका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई समेत सरकारमा सहभागी गराउने भन्दै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपनि नेपाल पक्ष सरकारमा नआउने भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको राष्ट्रिय जनमोर्चाले पनि सरकारमा नजाने जनाइएको छ ।
एमाले नेता नेपाल पक्षले सरकारमा सहभागी नहुने बताएपछि देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका छन् । मन्त्री छान्नको लागि जसपा आन्तरिक छलफलमा रहेको छ ।
उपप्रधानमन्त्रीसहित उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
माओवादी केन्द्र र जसपाले १/१ राज्यमन्त्री राख्न पाउने छन् । संविधानको व्यवस्था अनुसार मन्त्रिपरिषद्को व्यवस्था प्रधानमन्त्रीसहित २५ सदस्यीय मात्र हुने प्रावधान छ । प्रधानमन्त्री देउवाले असार २९ गते पद तथा गोपनियताको शपथ लिएलगत्तै ४ जना मन्त्री नियुक्त गरिसकेका छन् । त्यसपछि उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएर देउवाले मन्त्रिपरिषद् ६ सदस्यीय बनाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।