काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सक्रियता फेरि बढेको छ । मंगलबार बिहानैदेखि उनले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् ।
प्रचण्डले मंगलबार बिहान सुरुमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटे । त्यसपछि उनी सिधै बालुवाटार पुगेका थिए ।
प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बताइए पनि भित्री तयारी भने अर्कै रहेको बुझिएको छ ।
प्रचण्डले प्रधानमन्त्री देउवापछि सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका थिए । उनले सभामु्खलाई भेटेपछि अनेकथरी अड्कलबाजी लगाइएको छ । कतै आजै बस्ने प्रतिनिधिसभा बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको त होइन भन्ने आशंका गरिएको छ ।
स्रोतका अनुसार महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई सजिलो बनाइदिन अध्यादेश ल्याउन लागिएको हो । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर र महतोलाई नयाँ पार्टी गठन गर्न आयोगले मौका दिएको छ ।
त्यसैले संसदीय दल वा केन्द्रीय समितिमा २५ प्रतिशत लिएर छुट्टै दल गठन गर्न सकिने अध्यादेश ल्याउन लागिएको हो ।
संविधानमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत लिएर नयाँ दल गठन गर्न सकिने विद्यमान व्यवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।