काठमाडौं – नेपाल तरुण दल सुर्खेतका अध्यक्ष तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष हरि विष्टले विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका ६२ वर्षीय पूर्णप्रसाद कँडेल र बाङ्गेसिमलका ५० वर्षीय लालबहादुर विकलाई १०/१० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
गत चैत्र ७ गतेदेखि प्यारालाइसिस भएर आर्थिक अभावमा उपचार नपाएर थलिएका कँडेलको परिवारलाई आर्थिक सहयोग गरिएको विष्टले बताए । ‘लामो समयदेखि प्यारालाइसिस भएको रहेछ । परिवारमा आर्थिक अभाव भएपछि उपचार नगरी बस्नुभएको खबर पाएपछि सहयोग गरेको हुँ,’ उनले भने, ‘वीरेन्द्रनगरमै भएर पनि उपचारका लागि प्रदेश अस्पताल समेत जानुभएको रहेनछ । त्यसैले उहाँलाई उपचार गराउनका लागि आजै प्रदेश अस्पतालमा पहल समेत गरिएको छ ।’
कँडेलका परिवारमा पत्नी, बुहारी, नाति र नातिनी छन् भने उनका छोराको २०६९ भदौ २६ गते कर्णाली नदीमा गाडी दुर्घटना हुँदा मृत्यु भएको परिवारले बताए । कँडेलको उपचारका लागि आर्थिक अभाव भएकाले थप सहयोग गरिदिन परिवारले आग्रह समेत गरेको छ ।
अध्यक्ष विष्टले बाङ्गेसिमल घर भएका लालबहादुर विकलाई १० हजार आर्थिक सहयोग गरेका छन् । ‘विकको रुखले च्यापिएर हात र करङमा चोट लागेपछि उपचारको लागि आर्थिक सहयोग गरिएको हो,’ विष्टले भने, ‘उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।