काठमाडौं – नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको डर व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुईतिहाइ बहुमत नजिक पुर्याएपछि प्रतिक्रियावादीहरुले यसलाई नसोचेको कुरा भएको ठानेर सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको प्रचण्डले डर देखाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दैै अध्यक्ष प्रचण्डले प्रतिगमन विरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहे पनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भइरहेको बताएका छन् । नेकपा एमालेभित्र पार्टी एकताको प्रयास भइरहेका बेला सत्तारुढ गठबन्धन भत्किने डरले प्रचण्ड दिनदिनै नेता माधवकुमार नेपाल निवास कोटेश्वर धाउने गरेका छन् ।
‘सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरुबीच कतै छिद्र छ कि ? कांग्रेस र कम्युनिस्ट भडाउन सकिने हो कि ? एमालेभित्र चलिराखेको छ नि फरमानको फरमान । एमसीसी अगाडि सारेर हुन्छ कि ? आईपीएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भइरहेको बुझ्न जरुरी छ,’ अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध एकैठाउँ उभिएका एमाले नेता भीम रावलको राजीनामा प्रकरण समेत सत्ता गठबन्धनलाई भत्काउने षड्यन्त्र भएको जिकिर गरेका छन् ।
‘संसद विघटन विरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले,’ प्रचण्डले भने, ‘त्यो त्यत्तिकै ढलेको होइन । त्यहाँभित्र गम्भीर षड्यन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भएको छ ।’
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्रोसँग पछारिए पनि कमजोर ठानिहाल्ने अवस्था नरहेको समेत बताएका छन् ।
प्रचण्डले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती रहेको बताउँदै मन्त्रीहरुलाई लापरबाही गर्ने कुनै छुट नभएको बताए । ‘यो बाँकी अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नुपर्नेछ,’ प्रचण्डले भने, ‘हुुन त सरकारले जनताको जीवन सुरक्षाका लागि कोरोना खोपलाई प्राथमिकता दिएर राम्रो कामको शुरूआत गरेको छ तर अब यो राष्ट्रलाई नै क्याप्चर गरेर निरंकुशता लाद्न ओली नेतृत्वको सरकारले गरेको सेटिङलाई कानून र संविधानसम्मत ढंगले परास्त गर्दै अघि बढ्नुपर्नेछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।