काठमाडौं – नेपाली कांग्रेसले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारमा ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार ६ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेपछि शपथ भएको हो ।
शपथ खाने मन्त्रीमध्ये कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, बिन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
नेकपा माओवादी केन्द्रका रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भूसंरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
नवनियुक्त मन्त्रीलाई शुक्रवार नै प्रदेश प्रमुख सिताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
शपथ ग्रहण कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोला, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी, प्रदेश सरकारका सचिव लगायतको उपस्थिति रहेको थियो ।
यसअघि मुख्यमन्त्री पोखरेलले कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई मन्त्री बनाइसकेका छन् ।
खड्का भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था, आचार्य ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालय, अधिकारी स्वास्थ्य तथा जनसंख्या र गुरुङ युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।