काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग लगायत विभिन्न मुद्दाको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
साउन २–५ गतेसम्म बबरमहलमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको छ ।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदा ठाकुर पक्षले समेत मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, ‘मुद्दाहरूको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’
ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरूको जनसंख्याका आधारमा पुनःस्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ ।
एक केन्द्रीय सदस्यका अनुसार बैठकमा नेताहरूले प्रधानमन्त्री देउवाले मिलेर काम गरौं भनेपछि विश्वासको मत दिएको बताएका थिए ।
अब सरकारमा जाने कि नजाने भन्नेमा नेताहरूको फरक–फरक मत आएको छ । केहीले सरकारमा जान नहुने मत राखेका छन् भने कतिपयले सरकारलाई समर्थन गरेपछि जस/अपजस बोल्नुपर्ने भएकाले सरकारमा जानुपर्ने मत राखेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएकाले यसबारे कुनै निर्णय नभएको एक नेताले बताए ।
कार्यकारिणी समितिको बैठकले केही मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठन लगायतका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ ।
सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्न, आर्थिक राहत प्याजेक ल्याउन तथा नेपाल–भारत सीमामा सहज आवतजावतको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ ।
बैठकले वर्षायाम शुरू भएकाले जनतालाई बाढी, पहिरो र डुबानबाट बचाउन पनि सरकारसँग माग गरेको छ । बैठकले नेपालको अथैतन्त्र कृषिमा आधारित भएकाले किसानहरूलाई समयमा मलखाद उपलब्ध गराउन माग गरेको छ ।
बैठकले नेपाल–भारत सिमाना भई आवतजावतको सहजताको लागि आवश्यक प्रबन्ध मिलाउन समेत सरकारसँग माग गर्ने निर्णय गरेको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।