काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ ८ गतेयता गरेका सबै नियुक्ति प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गर्ने सहमति भएको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भएको भेटमा ओली सरकारका निर्णय खारेज गर्ने सहमति भएको हो ।
तत्कालीन प्रधानमन्त्री ओलीले जेठ ८ गते संघीय संसदको प्रतिनिधिसभा दोस्रो पटक विघटन सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट मध्यावधि निर्वाचनको मिति घोषणा गराएका थिए ।
ओलीले गरेको संसद विघटनको सिफारिस सर्वोच्च अदालतले बदर गरेर नयाँ सरकार बनिसकेको अवस्थामा संसद नहुँदाको बेलामा भएका नियुक्ति खारेज गर्न देउवा र प्रचण्ड सहमत भएका छन् ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेकपा एमालेका नेता माधव नेपालसँग समेत प्रचण्डले मंगलबार बिहान छलफल गरेका थिए ।
संसद विघटनपछि ओली सरकारले विभिन्न पदमा करीब ३ दर्जन नियुक्ति बाँडेका थिए । ओली सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट सरेपछि देउवा सरकारले एकपछि अर्काे धक्का दिन थालेको छ । नियुक्त खारेज हुने भएपछि बालकोटलाई ठूलो धक्का लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।