काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सातै प्रदेशका प्रमुख हटाउने भएको छ । त्यसबारे गठबन्धनमा आबद्ध दलका नेताहरूबीच अनौपचारिक छलफल सुरु भएको छ ।
अघिल्लो केपी ओली नेतृत्वको सरकारले पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर आफू निकट प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
ओली सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो ।
त्यसमध्ये पनि ओलीले गण्डकी प्रदेशका प्रमु्ख शेरचनलाई हटाएर अनेमसंघकी अध्यक्ष सीता पौडेललाई प्रमुख नियुक्त गरेका थिए । त्यसलगत्तै ओलीले प्रदेश २ का प्रमुख परियारलाई बर्खास्त गर्दै राजेश अहिराजलाई नियुक्त गरेका थिए ।
शेरचन र परियार माओवादी केन्द्र निकट भएकाले ओलीले तिनलाई हटाएर आफ्नो पार्टी एमालेका नियुक्त गरेका थिए ।
प्रदेशको सरकार सञ्चालनमा प्रदेश प्रमुखको भूमिका महत्वपूर्ण हुन्छ । अहिले लुम्बिनीका प्रदेश प्रमुखले विपक्षी पार्टीको माग अस्वीकार गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै आएका छन् ।
यदि प्रदेश प्रमुख अरु नै भएको भए पोखरेल धेरैअघि पदबाट हटिसकेका हुन्थे । त्यसैले लुम्बिनी प्रदेश प्रमुख यादव, प्रदेश १ अधिकारी र बागमती प्रदेशका प्रमुख प्रसाईलाई हटाएर नयाँ नियुक्ति गरिने भएको हो । केही दिनभित्रै यसले पूर्णता पाउने स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।