काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएपछि अब सरकारलाई पूर्ण दिने भएका छन् ।
सरकारलाई पूर्णता दिन सर्वप्रथम सत्तारुढ दलहरूबीच सन्तोषजनक भागबण्डा गर्नुपर्ने हुन्छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चासँग छलफल गरेर देउवाले कसले कति मन्त्रालय पाउने भन्ने टुंगो लगाउने छन् ।
मन्त्रालयको भागबण्डा टुंगिएपछि को–को मन्त्री बन्ने भनेर दलभित्र छलफल हुने स्रोतले जनाएको छ । अहिले मन्त्रालयको भागबण्डा नै नटुंगिएकाले व्यक्तिमा छलफल भइरहेको छैन ।
तर कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीका नाम चर्चामा आउन थालेका छन् । प्रधानमन्त्री देउवाले आफूनिकट सांसद बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाइसकेका छन् ।
अब कांग्रेसबाट सरकारमा जानसक्ने नाममा पुष्पा भुसाल र नारायण खड्काको नाम अगाडि रहेको स्रोतको दाबी छ । नेत्री भुसाल हाल कांग्रेस संसदीय दलमा सचेतक रहेकी छन् । प्रमुख सचेतक रहेका खाँण गृहमन्त्री बनेका छन् ।
संसदीय दलका नेता देउवाले रिक्त रहेको प्रमुख सचेतक पदमा मीनबहादुर विश्वकर्मा र भुसाल मन्त्री बनेपछि रिक्त हुने सचेतक पदमा प्रमिला राईलाई नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । तर भुसाल मन्त्री नबनेर राई नै मन्त्री बन्ने सम्भावना पनि रहेको चर्चा कांग्रेसभित्र छ ।
यसअघि उपप्रधानमन्त्री भइसकेका पूर्व महामन्त्री प्रकाशमान सिंह र सुजाता कोइराला समेत सरकारमा मन्त्री हुनसक्ने चर्चा छ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी नहुने देखिएको छ ।
पौडेल पक्षका सांसद दिलेन्द्रप्रसाद बडू समेत सरकारमा सहभागी हुने सम्भावना देखिएको छ । सांसदहरू प्रमोद यादव, तुजुलाल चौधरी, राजन केसी मध्येबाट मन्त्री हुने सम्भावना रहेको जनाइएको छ ।
केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई असार २९ गते नै पौडेल पक्षले सरकारमा पठाउन चाहेपनि देउवाले रोकेका स्रोतको दाबी छ । सांसद गगनकुमार थापा समेत सरकारमा सहभागी हुनसक्ने चर्चा छ ।
मन्त्री बन्नसक्नेहरूको चर्चामा सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङ सहितका नेताहरु समेत देखिएका छन् ।
सत्तारुढ गठबन्धनभित्र भागबण्डा गर्दा कांग्रेसको पक्षमा कति मन्त्रालय पर्छन् ? त्यसका आधारमा पार्टीले मन्त्रीको नाम टुंग्याउने स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।