काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले ३ निर्णय गरेको छ ।
करीब ४ घण्टासम्म चलेको बैठकले १४औं महाधिवेशन केन्द्रित छलफल गरेको छ ।
निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिनेबारे शुक्रबारको बैठकमा छलफल भएको छ । निर्देशिकालाई अन्तिम रूप दिन सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
पूर्व निर्धारित समयमै महाधिवेशन हुने भएको नेता रिजालले जानकारी दिए । कांग्रेसले वडा अधिवेशन साउन १२ गते तोकेको छ भने केन्द्रीय महाधिवेशन भदौ १६–१९ गतेसम्म तोकेको छ । वडा अधिवेशन गर्नुभन्दा पहिला नै क्रियाशील सदस्यको विवरण सभापति देउवाले निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने निर्णय भएको छ ।
पार्टी उपसभापति बिमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको कार्यप्रगति, केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका कामकारबाही र निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिनेबारे बैठकमा छलफल भएको जनाइएको छ ।
बैठकबारे जानकारी दिँदै क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पार्टीले अधिकांश विवाद हल गरिसकिएको जानकारी दिए ।
क्रियाशील सदस्यबारे देखिएका विवाद ७५ जिल्लामा समाधान गरिसकिएको लेखकले बताए । कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन् । तीमध्ये करीब ४८ हजार विदेशस्थित नेपाली जनसम्पर्क समितिमा रहेका छन् ।
छिट्टै प्रतिवेदन सभापति देउवालाई बुझाइने उनले बताए । सप्तरी र बारामा आन्तरिक समायोजनका काम गर्न नै ढिलाइ हुँदा क्रियाशील वितरण प्रभावित भएको बताइएको छ ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारबारे कुनै छलफल नभएको नेता लेखकको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।