काठमाडौं – विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन पूर्ण अवधि संसद् चलाउने देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धनबाट बनेको सरकारले संसद्लाई पूर्ण अवधि चलाउने लक्ष्य लिएको छ ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई २ पटक विघटन गरी निर्वाचन घोषणा गरेपछि विपक्षी गठबन्धनमा रहेका दलहरुले पूर्ण अवधि संसदको माग गर्दै आएका हुन् ।
प्रधानमन्त्री देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले विपक्षी गठबन्धनको सुरूदेखिको लक्ष्य नै मिसन गभर्मेन्ट र पूर्ण अवधि संसद् रहेको बताउँदै संसद्को पूर्ण अवधिलाई सरकारले ख्याल गर्ने बताएका छन् ।
‘विपक्षी गठबन्धनको लक्ष्य नै पूर्ण अवधिको संसद् हो, ५ दलीय गठबन्धनले हिजो आन्दोलनका क्रममा पनि त्यही भनेको हो, यो संसद्ले आयू पूरा गरोस् भन्ने सबैको चाहना छ,’ उनले भने ।
नेता विश्वकर्माले प्रधानमन्त्री देउवाले हतार नगरी ३० दिनभित्र संसदबाट विश्वासको मत लिने र संसदलाई पूर्ण अवधि लैजाने दाबी गरेका छन् । ‘यो सरकारले ३० दिनभित्र विश्वासको मत लिन्छ, विश्वासको मतसँगै संसदले पूर्ण जीवन पाउँछ,’ उनले भने ।
संविधानअनुसार प्रधानमन्त्री देउवाले आगामी साउन २९ गतेभित्र अर्थात् प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संविधानको धारा ७६(६) मा भएको व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुपर्ने हुन्छ ।
तर सो व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेमा भने संविधानमा संसद बचाउने अन्य कुनै विकल्प छैन । प्रधानमन्त्रीमा देउवाले संसदबाट विश्वास लिन नसकेमा भने संविधानको धारा ७६(७) अनुसार फेरि प्रतिनिधिसभा विघटनको अवस्था आउनेछ । त्यस्तो अवस्था आएमा भने पुनः ६ महिनाभित्रमा अर्को प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुन सक्ने हुन्छ ।
तर प्रधानमन्त्री देउवाले सबैलाई विश्वासमा लिएर सुझबुझपूर्ण ढंगबाट संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधवार भेटवार्ता भएको छ । नेता नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र नेपालबीच प्रतिनिधिसभालाई पूर्ण समय लैजान संसदबाट विश्वासको मत लिनेबारे छलफल भएको छ ।
भेटमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विश्वासको मतका विषयमा छलफल भएपनि केही निष्कर्ष भने ननिस्किएको बताए । ‘विश्वासको मत लिनेबारे संवाद भए पनि कुनै निष्कर्ष निस्किएको छैन, छलफलबाटै अघि बढ्ने भन्ने कुरा भएको छ,’ उनले भने ।
भेटवार्ताका क्रममा नेता नेपालले प्रधानमन्त्री देउवालाई सबैसँगको सहमतिबाट अघि बढ्न सुझाव दिए । प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र सरकारबारे छलफल भएको बताए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।