काठमाडौं – सर्वाेच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने ३ जनाको नाम नेकपा माओवादी केन्द्रले टुंग्याएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँगको छलफलपछि ३ जना मन्त्रीको नाम टुंग्याएका हुन् ।
प्रचण्डले माओवादी केन्द्रबाट देव गुरुङ, जनार्दन शर्मा र पम्फा भुसालको नाम टुंगो लगाएका छन् । यी तीनै जनाले पाउने मन्त्रालयको टुंगो लाग्न भने बाँकी रहेको स्रोतले जनाएको छ ।
शर्माले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयमा दाबी गरेका छन् । नेता शर्माले सरकारको नेतृत्व गर्दै अर्थ मन्त्रालयमा जाने रुचि देखाएका छन् । उनी यसअघि नै ऊर्जा र गृहमन्त्री भइसकेका छन् ।
माओवादी र कांग्रेसबीच गृह र अर्थ मन्त्रालयमा रस्साकस्सी चलेको छ ।
देउवा नेतृत्वको सरकार चुनावी सरकार भएकाले गृह मन्त्रालय आफूसँग राख्ने देउवाको तयारी रहेको छ । माओवादी केन्द्रका नेता शर्मा अर्थ नपाए गृहमा जाने देखिएका छन् ।
यसअघि, देउवा र प्रचण्डबीच मंगलवार सरकारमा सहभागिता लगायतका विषयमा छलफल भएको थियो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवा र प्रचण्डबीच मंगलबार दिउँसो छलफल भएको छ ।
सर्वोच्च अदालतको फैसला बमोजिम देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको शपथ लिँदैछन् । प्रधानमन्त्री नियुक्त भएलगत्तै देउवाले मंगलबारै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।