काठमाडौं – गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा समेत मन्त्रालयको भागबण्डा हुन सकेको छैन ।
मुख्यमन्त्री नियुक्त भएकै दिन शपथ खाएका केही मन्त्रीले समेत मन्त्रालयगत जिम्मेवारी पाएका छैनन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) विना विभागीय मन्त्री भएर डुलिरहेका छन् ।
मन्त्रालय भागबण्डामा सकस परिरहेका बेला कांग्रेस नेतृत्वको सरकार संकटमा परेको हो कि भन्ने चर्चा हुन थालेपछि मुख्यमन्त्री नेपालीले जवाफ दिँदै स्पष्ट पारेका छन् ।
अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट पेश गरेपनि बजेटमाथि छलफल अघि बढ्न सकेको छैन ।
तर मुख्यमन्त्री पोखरेलले यसै हप्ता सदन बोलाएर बजेटमाथि छलफल हुने जानकारी दिए ।
‘असार २५ गते सदन बोलाएर बजेटमाथि छलफल थाल्ने छौं,’ मुख्यमन्त्री पोखरेलले भने, ‘असार मसान्तमा बजेट पारित हुन्छ, त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
गण्डकी प्रदेशमा हाल मुख्यमन्त्री र ४ जना मन्त्री रहेका छन् । जसमा कांग्रेस नेता कुमार खड्का सामाजिक विकास मन्त्री रहेका छन् भने माओवादी केन्द्रका मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन् । मन्त्रिपरिषद्मा रहेका जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद मनाङे विना विभागीय मन्त्री रहेका छन् ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुअघि आचार्यलाई अर्थ मन्त्रालय दिने लिखित सहमति भएकाले गठबन्धनमा संकट आएको छ ।
प्रदेश सरकारमा हाल ११ वटा मन्त्रालय रहेका छन् । मन्त्री नियुक्त गर्न र जिम्मेवारी बाँडफाँड गर्न सहमति नभएका कारण केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएका छन् । मन्त्रिपरिषद् विस्तारमा देखिएका विवादका कारण गठबन्धन नटुट्ने मुख्यमन्त्री पोखरेलले दाबी गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार भेटघाटमा बोल्दै पोखरेलले भने, ‘यो गठबन्धन राष्ट्रिय परिस्थितिको उपज हो । केन्द्रमा जस्तै प्रदेशमा गठबन्धन बनेको हो । अहिलेको विवादले गठबन्धन टुट्दैन ।’
पोखरेलले अप्ठ्यारो परिस्थितिमा आफ्नो नेतृत्वको सरकार बनेको बताउँदै आगामी यात्रा चुनौतिपूर्ण रहेको बताएका छन् ।
गण्डकीमा कांग्रेसको सरकारसँग ठ्याक्कै बहुमत रहेको छ । स्वतन्त्र सांसद मनाङे एक्लै रिसाएर हिँडेपनि सरकार अल्पमतमा पर्छ । मनाङेले भौतिक पूर्वाधार वा आर्थिक मामिला मन्त्रालय मागिरहेकाले सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।