काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको घरमा बुधबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक सकिएको छ ।
बैठकले पार्टीमा देखिएको क्रियाशील सदस्यता वितरण विधान विपरीत भए अस्वीकार गर्ने निर्णय गरेको छ ।
डा. कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षको बैठकले क्रियाशील सदस्यता टुंग्याउने विषयमा संस्थापन पक्षबाट सकारात्मक प्रयास नभएको ठहर गरेको छ ।
पार्टीले तय गरेको निर्देशिकाअनुसार नै समायोजन र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा क्रियाशील सदस्यता छानविन समितिमा रहेका केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङले समितिको कार्यप्रगतिबारे जानकारी दिएका थिए । बैठकले विवाद नभएका र विधिसम्मत टुंगो नलाग्ने सदस्यता १५औं महाधिवेशनका लागि थाती राख्नुपर्ने निष्कर्ष समेत निकालेको जनाइएको छ ।
‘असार २० गतेसम्म क्रियाशील टुंग्याउनैपर्ने हुन्छ । अब विवाद नभएकालाई स्वीकृत गर्ने र विवाद देखिएकालाई निर्देशिका र विधानअनुसार टुंग्याउने हो । नटुंगिने क्रियाशील सदस्यताहरू यसपटक थाँती राख्नुपर्छ,’ पौडेल निकट स्रोतले भन्यो ।
बिहीवार बस्ने पदाधिकारी बैठकमा क्रियाशील सदस्यता र महाधिवेशनका अन्य तयारीबारे साझा धारणा राख्ने सहमति बनेको छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार असार २० गतेभित्र सदस्यता छानबिन समितिले क्रियाशील सदस्यको सूची केन्द्रीय समितिमा बुझाउनुपर्नेछ ।
केन्द्रीय समितिले असार २४ गतेसम्म निर्वाचन समितिलाई सदस्यता सूची बुझाउनुपर्नेछ । कांग्रेस पदाधिकारी बैठक विहीबार बस्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।