काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका प्रभावशाली दाबेदार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।
पौडेल निवास बोहोराटारमा सोमबार भएको भेटमा नेता कोइरालाले पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न र आफूलाई सभापतिमा सघाउन आग्रह गरेका छन् ।
बिहान करीब डेढ घण्टा भएको छलफलमा सुरूमै नेता पौडेलले डा. कोइरालालाई सभापतिमा सघाउन आग्रह गरे । पौडेलले आफूलाई १ वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छाडिदिन तयार रहेको कोइरालालाई बताएका थिए ।
स्रोतका अनुसार पौडेलले कोइरालालाई भने, ‘सभापति बन्ने ठूलो इच्छा छ, अहिले मलाई छोडिदिनुस्, १ वर्षपछि म तपाईंलाई नै सहयोग गर्छु । अहिलेसम्मको राजनीतिक अनुभवलाई पार्टी नेतृत्वका रुपमा १ वर्षमै कार्यान्वयन गर्ने मेरो इच्छा पूरा गर्न सहयोग गर्नुस् ।’
पौडेलको कुरा सुनेपछि डा. कोइरालाले लामो राजनीतिक अनुभवलाई प्रधानमन्त्रीका रुपमा कार्यान्वयन गर्न र आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरे ।
कोइरालाले आफूलाई सभापतिमा सहयोग गरेमा २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई जस्तै पौडेललाई पहिल्यै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गर्ने वाचा गरेका छन् ।
कोइरालाले भने, ‘तपाईंप्रति पार्टीमा सबैको सम्मान छ । आमनागरिकले पनि तपाईंलाई सम्मान गर्छन् । लामो राजनीतिक अनुभव छ । सभामुख, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भएको अनुभव प्रधानमन्त्री भएर कार्यान्वयन गर्नुपर्छ । तपाईं प्रधानमन्त्रीको उम्मेदवार बन्नुस् । मलाई सभापतिमा सहयोग गर्नुस् ।’ कोइरालाको कुरा सुनेपछि पौडेल मौन बसेका थिए ।
यसअघि कोइरालाले युवा नेता गगनकुमार थापालाई भेटेर महामन्त्रीमा आफ्नो टीमबाट चुनाव लड्न आग्रह गरेका छन् । सभापतिमा सघाएमा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई समेत जुनसुकै पदमा टीममा राख्ने वचन कोइरालाले दिएका छन् । सभापति देउवाविरुद्ध कांग्रेसका नेताहरू एकजुट हुने र छलफल गर्नेक्रम बढेको छ ।
नेपाली कांग्रेसमा आगामी भदौमा हुने गरी तोकिएको महाधिवेशनको चहलपहलसँग सभापति शेरबहादुर देउवालाई तह लगाउन मोर्चाबन्दी सुरू भएको छ ।
सोमबारै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच महाधिवेशनको तयारी र नेतृत्व चयनका विषयमा छलफल भएको छ । नेताहरूबीच कोइराला निवासमा सोमवार दिउँसो डेढ घण्टा छलफल भएको छ ।
छलफलमा नेता पौडेल, सिटौला र कोइरालाले सभापति देउवालाई महाधिवेशनमा पराजित गर्न सबै मिल्नुपर्ने निष्कर्ष निकालेको कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले जानकारी दिए ।
कांग्रेस नेताहरू शेरबहादुर देउवा, बिमलेन्द्र निधि, डा. शशांक कोइराला सक्रिय भइरहेका बेला पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला समेत सक्रिय भएकी छन् ।
नेत्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग सोमबार छलफल गरेकी छन् । नेत्री कोइरालाले नेता पौडेल र सिटौलालाई मण्डिखाटारस्थित घरमा बोलाएकी हुन् ।
कांग्रेस वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले कोइरालाको निम्तोपछि लन्चका लागि नेताहरु घरमै पुगेका बताएका छन् । नेत्री कोइरालाको घरमा २ घण्टा छलफल भएको छ ।
नेत्री कोइराला कांग्रेस महाधिवेशनमा सभापति पदमा लड्ने बताइरहेकी छन् । कोइरालाले २०७२ सालमा पनि कांग्रेस सभापतिमा उठ्ने बताए पनि अन्तिम समयमा पछाडि हटेकी थिइन् ।
नेत्री कोइरालाले दुवै नेतालाई घरमै बोलाएर आफू सभापतिमा लड्ने तयारी गरिरहेको बताएकी छन् । कांग्रेसको आगामी महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ ।
देउवाविरुद्ध यसअघि नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहले समेत संयुक्त भेटवार्ता गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।