काठमाडौं – ‘एक पटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरुले मलाई सहयोग गर्नुपर्यो । मलाई शेरबहादुर जीसँग दाँजेर हेर्नुभएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’ २०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रवार निकटहरुसँग १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै राखेको धारणा हो यो ।
पार्टीका विभिन्न तह हुँदै कार्यबाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका पौडेलले प्रतिनिधि सभाको सभामुख र मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार बने पनि प्रधानमन्त्री भने बन्न सकेनन् । कार्यबाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै उनी १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार पनि बने । तर निकटहरु मिलाउन नसक्दा जीत निकाल्न असफल भएका थिए ।
१३ औं महाधिवेशनमा शेरबहादुर देउवासँग नेतृत्वमा पराजित पौडेलले १४ औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने आकांक्षासहित निकटहरुसँग सहयोगको हात बढाएका हुन्, त्यो पनि आफ्ना राजनीतिक समकक्षीसमेत रहेका सभापति देउवाले १४ औं महाधिवेशनमा नेतृत्व दौड थालेलगत्तै ।
१३ औं महाधिवेशनमा निकटहरु मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका पौडेललाई १४ औं महाधिवेशनमा सबैलाई विश्वासमा लिएर उम्मेदवार बन्न झनै कठिन देखिएको छ, जसको संकेत शुक्रवार उनै पौडेलद्वारा आयोजित भेलाले दिएको छ ।
राजनीतिक जीवनको उत्तरार्धमा आइपुगेका पौडेललाई निकटहरुले आगामी महाधिवेशनमा नेतृत्वका लागि अघि बढ्न सुझाएनन् । महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालाले मात्र होइन, रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले आफैं मैदानमा खडा हुने भन्दै पौडेललाई प्रतिस्पर्धा नगर्न सुझाव दिए ।
त्यति मात्र होइन, पार्टीभित्र युवा भनिएका पहिलो र दोस्रो तहका नेताहरुले एउटै साझा उम्मेदवार नदिए आफैं नेतृत्वको प्रतिस्पर्धामा उत्रिने दावी गरेका छन् ।
कोइराला परिवारबाट महामन्त्री शशांक र नेता शेखर एकअर्का नै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । नेता पौडेल मात्रै होइनन्, भाइ शशांकलाई पनि नेतृत्व प्रतिस्पर्धामा नछाड्ने गरी तयारी थालेका शेखर आगामी महाधिवेशनमा कुनै पनि हालतमा सभापतिको उम्मेदवारी दिने पक्षमा देखिएका छन् ।
शशांकले पनि उम्मेदवार बन्ने बताइरहँदा कोइराला परिवारबाटै कांग्रेस सभापतिका लागि २ उम्मेदवार हुने त होइन भन्ने आशंका उब्जिरहेका बेला पार्टीका शीर्ष नेता पौडेललाई संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्ने कुरा निकै कठिन रहेको निकटहरु बताउँछन् ।
अझ देउवाबाट नचलेको पार्टी अब पौडेलबाट समेत चल्न सक्दैन भन्दै पूर्व महामन्त्री सिंह नेतृत्वको दौडमा खुलेर उत्रिँदा पौडेल थप अप्ठ्यारोमा परेका छन् । नेता तथा कार्यकर्ताले देउवा र पौडेलको विकल्प खोजिरहेको बताउँदै सिंहले शुक्रवारको भेलामा भनेका थिए, ‘मान्छेहरु भन्छन् – शेरबहादुर देउवाजीबाट पार्टी चलेन । रामचन्द्र दाइबाट पनि चल्दैन । म नेविसंघबाट राजनीति गरेर आएको हुँ । म लिगेसीबाट मात्र आएको होइन । त्यसैले मलाई सबैले सहयोग गर्नुपर्यो ।’
त्यति मात्र होइन, पूर्व सहमहामन्त्री समेत रहेका केसीले ६० वर्षमुनिकालाई पार्टी नेतृत्व दिनुपर्ने भन्दै सहमतिबाट एउटा मात्र उम्मेदवार दिन नसके नेतृत्व प्रतिस्पर्धामा रहेका सबै नेता सल्लाहकार बस्नुपर्ने तर्क गरेका छन् । सबै नेतृत्वको प्रतिस्पर्धामा उत्रिने भनेको आत्महत्या गर्नुजस्तो हुने उनको तर्क रहेको छ ।
‘वर्तमान सभापति शेरबहादुर देउवाले फेरि नेतृत्वको प्रतिस्पर्धा गर्छु भनिरहेका बेला हामीले उहाँ (रामचन्द्र पौडेल) लाई उम्मेदवार बन्न पाउनुहुन्न भनेका छैनौं,’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पौडेल दाइले सबैलाई मिलाएर जान सके ठीक छ । उहाँले त्यसमा क्षमता देखाउनुपर्यो । त्यो भएन भने उहाँले मैदान छाड्नुपर्छ ।’
आफ्नो नाममा सहमति जुटाउन नसके अभिभावक भएर अन्य प्रतिस्पर्धीमध्येबाट एउटालाई सभापतिको उम्मेदवार तोकेर अघि बढ्नसक्नुपर्ने भन्दै घिमिरेले भने, ‘त्यो पनि भएन आफूहरुले एउटा उम्मेदवार छनोट गर्ने वा युवाहरु नै नेतृत्वका लागि अघि बढ्छौं । त्यसको सम्पूर्ण तयारीमा हामी छौं ।’
केन्द्रीय सदस्य चन्द्र भण्डारी र गगनकुमार थापामध्ये एकलाई मैदान उतार्ने भन्दै उनीहरुले सहमतिबाट साझा उम्मेदवार तय गर्न नेता पौडेललाई सुझाएका छन् । संस्थापन पक्षमा भएका नेतालाई समेत आफ्नो पक्षमा नल्याई नेतृत्वमा पुग्न कठिन रहेका बेला आफ्नै पक्षमा सहमति जुटाएर उम्मेदवार बन्ने कुरा पौडेलका लागि थप चुनौतीपूर्ण देखिएको छ ।
२०४८ सालपछि कांग्रेसमा रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवालाई आरएसएस भनिन्थ्यो, जसलाई दोस्रो पुस्तामा कांग्रेस हाँक्ने नेताका रुपमा गनिन्थ्यो । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा गृहमन्त्री रहेका देउवाले कोइराला परिवारलाई चुनौती दिएर प्रधानमन्त्री बने र पार्टी विभाजन गरेर देउवाले छुट्टै पार्टी मात्र गठन गरेनन्, विभाजित पार्टीलाई एकीकरण गरेका उनी अहिले पार्टी सभापति छन् ।
‘पौडेलले न कोइराला परिवारसँग देउवाले जस्तो विद्रोह गर्ने आँट गरे, न त विश्वासपात्र नै बन्न सके,’ पौडेलनिकट एक नेताले भने, ‘विगतदेखि हालसम्म हेर्दा उहाँ कोइराला परिवारसँग जोडिरहनुभएको छ । तर कोइराला परिवारले पौडेललाई विश्वास गरेजस्तो देखिँदैन । त्यसले गर्दा आगामी दिन अझै चुनौतीपूर्ण छ ।’
ती नेताको बुझाइमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकट मानिने नेता पौडेललाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग नमिलेर पार्टी फुटाउन हिँडेको आरोप लाग्ने गरेको छ । विभाजित पार्टीको सभापति बन्ने अन्तिम तयारीमा रहेका पौडेललाई नेत्री शैलजा आचार्यले मूल पार्टीमै राख्ने भूमिका खेलेकी थिइन् । जसले गर्दा देउवासहित पार्टी विभाजनको पक्षमा रहेको पक्ष समेत पौडेलबाट धोका पाएको भन्दै रुष्ट बन्यो भने गिरिजाप्रसादले पनि उनलाई सँगै त राखे तर पूर्ण रुपमा विश्वास गरेनन् । त्यसको कारण पार्टी विभाजन गरेर जान लागेको मात्र होइन, होलेरी काण्डपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीबाट राजीनामा गर्ने तयारीमा थिए ।
तर उनलाई प्रधानमन्त्रीबाट हटाउने दरबारिया षड्यन्त्रमा जानी–नजानी उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका पौडेलले राजीनामा गरेको बताइन्छ ।
‘दरबारबाट असहयोग भएपछि गिरिजाप्रसाद प्रधानमन्त्रीबाट राजीनामा गर्ने तयारीमै हुनुहुन्थ्यो तर रामचन्द्र पौडेलले हतारहतार उपप्रधानमन्त्रीबाट राजीनामा मात्र गर्नुभएन, प्रधानमन्त्रीविरुद्ध कठोर अभिव्यक्ति दिनुभयो,’ निकटहरु भन्छन्, ‘उहाँले केही समय धैर्य गरेको भए गिरिजाप्रसादपछि प्रधानमन्त्री बन्ने सम्भावना थियो । तर त्यसपछि उहाँलाई कोइराला परिवारले कहिल्यै उपल्लो तहको विश्वास गरेजस्तो देखिँदैन ।’
गिरिजाप्रसादले आफूले प्रधानमन्त्रीबाट राजीनामा गरेपछि नेता चक्रप्रसाद बास्तोलालाई प्रधानमन्त्री बनाउन चाहेको बताउँदै परिवारभित्रको खिचातानीमा झापाका अर्का नेता कृष्णप्रसाद सिटौलाले उनलाई रोकेको कोइराला परिवारसँग निकट नेताहरु बताउँछन् ।
‘चक्रलाई प्रधानमन्त्री बनाउँदा कोइराला परिवारबाट पार्टी राजनीति बाहिर जान्छ, अहिले प्रधानमन्त्री नबने पनि अर्को पटकका लागि सुशील कोइरालाको ठाउँ हुन्छ भनेर गिरिजाबाबुलाई बुझाउने काम भयो,’ ती नेताले भने । त्यसपछि भएको संसदीय दलको निर्वाचनमा सुशीललाई पछि पार्दै देउवा दलको नेता र प्रधानमन्त्री बनेका हुन् । पौडेलले हतार नगरेको भए कांग्रेस भित्रको मात्र होइन, सिंगो मुलुकको राजनीति नै अन्यत्रै मोडिन सक्ने विश्लेषण गर्दै पहिलो संविधानसभा निर्वाचनपछि पौडेल सुशील कोइराला सहितका नेताहरुको समर्थनमा संसदीय दलको नेता त बने तर प्रधानमन्त्री बन्न भने सकेनन् ।
नेता माधवकुमार नेपालले राजीनामा दिएर खाली भएको प्रधानमन्त्री पदमा पौडेलले पटक–पटक प्रतिस्पर्धा गरे तर निर्वाचित हुन सकेनन् । ‘पौडेललाई प्रधानमन्त्री बनाएर शेरबहादुर देउवाले जस्तो पार्टीमा अर्को शक्ति केन्द्र बनाउन दिन कोइराला परिवार चाहँदैनथ्यो,’ ती नेता भन्छन्, ‘न उहाँले आफ्नो छुट्टै गुट बनाउन सक्नुभो, न कसैको विश्वासपात्र बन्न, महाधिवेशनको मुखमा सुशील कोइरालाको निधन भएकाले तत्कालीन अवस्थामा कोइराला परिवारबाट अर्को विकल्प तयार नभएकाले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारमा उहाँलाई स्वीकार गरिएको हो ।’
१४ औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि कोइराला परिवारबाट शशांक र शेखर तयार भइसकेको भन्दै ती नेताले थपे, ‘कोइराला परिवारका तीनै जना आकांक्षी (शशांक, शेखर र सुजाता) को समर्थन जुटाएर सभापतिको उम्मेदवार बन्ने कुरा उहाँ (रामचन्द्र पौडेल) का लागि निकै कठिन छ ।’ संस्थापन पक्षबाटै नेतृत्वको आकांक्षा देखाएका उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह सहितको समर्थनमा नेतृत्व प्रतिस्पर्धामा पौडेल उत्रिने सम्भवना कायमै रहेको बताउँदै ती नेताले थपे, ‘होइन, जे जसरी हुन्छ देउवालाई हराउने भन्नेमा इतर पक्ष उभिएको खण्डमा सबैभन्दा सिनियर नेताको हिसाबले पौडेलको सम्भावना रहन सक्छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।