काठमाडौं – गत जेठ २९ गते मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालयको भागबण्डाका कुरा नमिल्दा कार्यविभाजन गर्न सकेका थिएनन् । तर अब सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा मिलेको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले मन्त्रीको कार्यविभाजनमा सहभागी जुटिसकेको बताएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वतन्त्र सांसद दिपक मनाङेबीच भागबण्डामा कुरा मिलेको स्रोतले जनाएको छ ।
सहमति अनुसार कांग्रेस नेता तथा प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि खड्काले आर्थिक मामिला वा भौतिक पूर्वाधार मन्त्रालयमा दाबी पेश गर्दै आए पनि खड्काले अब सामाजिक विकासमा चित्त बुझाउने भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्री हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा पाउने भएका छन् । यसअघि उनले आर्थिक मामिला मन्त्रालयमा दाबी गर्दै आएका थिए ।
मुख्यमन्त्री नेपालीले विश्वासको मत लिनुअघि आचार्यले आर्थिक मामिला मन्त्रालय चाहिने अडान लिँदै लिखित सहमति नै गर्न बाध्य पारेका थिए । उतिबेलाको लिखित सहमति अनुसार जसपालाई आर्थिक मामिला मन्त्रालय दिने सहमति भएको थियो ।
स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । यसअघि मनाङेले समेत आर्थिक मामिला वा भौतिक पूर्वाधार मन्त्रालय मागेका थिए । मनाङे एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा समेत युवा मन्त्री नै थिए ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट जेठ २९ गते कांग्रेस नेता पोखरेल मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पोखरेलले त्यसैदिन ४ जना मन्त्री समेत नियुक्त गरेका थिए ।
गण्डकी प्रदेशमा सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र १ जना स्वतन्त्र सांसदको गठबन्धन रहेको छ । गठबन्धनमा रहेर सरकारमा नजाने तर समर्थन गर्ने नीति जनमोर्चाको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।