काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार देखिएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी रहेको छ । कृष्णप्रसाद सिटौला समेत सभापतिको चर्चामा रहेका छन् ।
शुक्रवार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन् । स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतले सभापतिमा दाबी गरेका छन् । युवा नेता कल्याण गुरुङले समेत आफू सभापतिको उम्मेदवार रहेको घोषणा गरेका छन् ।
पौडेलले आफू एक पटक मात्रै चुनाव लड्ने भन्दै सहयोगका लागि आग्रह गरे । अब देउवा र पौडेलबाट नचल्ने भएकाले आफूलाई उम्मेदवार बनाउन अन्य नेताले आग्रह गरेका छन् । डा. शेखर कोइरालाले विगत लामो समयदेखि सभापतिका लागि भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् ।
आगामी १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर जानुपर्ने विषयमा पौडेल पक्षको भेलामा छलफल भएको थियो । आफ्नो समूह एक भएर चुनाव लड्नुपर्छ भन्ने विषयमा छलफल भएको नेता गुरुङले बताए । उनले भने, ‘तर निचोडमा पुगेको छैन, छलफल जारी छ ।’
गुरुङले जनचाहनाअनुसार नै युवा नेतृत्व गरेर आफू चुनावमा जाने बताएका छन् ।
आगामी महाधिवेशनमा ५० प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आउने भएकाले आफूलाई जित्न सजिलो हुने गुरुङको दाबी रहेको छ । ‘५० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आउँछन्, पुराना राजनीतिक नियुक्ति लगायतका विषयमा भएको काखापाखाले नेतृत्वसँग रुष्ट छन्,’ गुरुङले भने ।
पौडेल पक्षको भेलामा क्रियाशील सदस्यताको छानविनको कस्तो मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको युवा नेता गुरुङले बताए ।
पारिवारिक विरासतका उत्तराधिकारीका रुपमा रहेका नेपाली कांग्रेसको दोस्रो पुस्ताका ३ नेताले आगामी महाधिवेशनका लागि भन्दै छलफल चलाइरहेका छन् । शुक्रवार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा उपसभापति बिमलेन्द्र निधि र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनको विषयमा छलफल भएको छ ।
उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुशी छन् ।’ पूर्व महामन्त्री सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।
‘समय आएपछि त्यो हुन्छ । १/२ सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं,’ उनले भने ।
यसअघि बिमलेन्द्र निधिको निवासमा छलफल गरेका थिए । निधि देउवा प्यानलमा छन् भने कोइराला र सिंह पौडल प्यानलमा रहेका छन् । महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र, गणेशमान पुत्र प्रकाशमान र बीपी कोइराला पुत्र डा. शशांकको छलफलले कांग्रेस राजनीतिमा पछिल्लो समयमा हलचल नै उत्पन्न भएको छ ।
उनीहरुले १३ औं महाधिवेशनमा उम्मेदवार भएका देउवा, पौडेल र सिटौलालाई फेरि दाबी गर्न नदिने रणनीति बनाएका छन् । ३ जनाबीच सहमति गरेर पावर सेयरिङ गर्ने रणनीतिमा पनि उनीहरु छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।