काठमाडौं – नेकपा एमालेमा नेता माधवकुमार नेपाल पक्षका सांसदलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गर्ने र निलम्बन गर्ने शृंखला अझै रोकिएको छैन ।
शुक्रबार कर्णाली प्रदेश सभामा एमालेका ३ जना सांसदलाई निलम्बन गरिएको छ ।
पार्टीको निर्देशन (ह्वीप) उल्लंघन गरी ‘फ्लोर क्रस’ गरेर पार्टीबाट निष्कासन भई सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका नेपाल पक्षका ४ जनामध्ये सरकारमा रहेका ३ जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको छ । पुनः कारवाहीमा परेका तीनै जनाले गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई १ महिनाका लागि निलम्बन गरिएको भनी प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ ।’
एमाले संसदीय दलले पुनर्बहालीपछि दलको सदस्यका रूपमा राजीनामा दिन पटक–पटक आग्रह र निर्देशन दिएको थियो तर मन्त्रीहरूले संसदीय दल नै अवैधानिक रहेको भन्दै राजीनामा नदिने दाबी गर्दै आएका थिए ।
पुनर्बहालीपछि एमालेमा बढेको विवादको असर प्रदेशसभा बैठकमा परेको छ । प्रदेश सभामा बजेट प्रस्तुत भएपछि हालसम्म पनि सहज रूपमा सदन नचलेर अवरुद्ध भइरहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।