काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा सभापति पदमा पुनः उम्मेदवार बन्न छलफल र परामर्श सुरु गरेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा समेत सर्वस्वीकार्य सभापति उम्मेदवारको खोजी हुन थालेको छ ।
आगामी भदौ १६–१९ गतेसम्मका लागि तोकिएको महाधिवेशनमा सर्वस्वीकार्य उम्मेदवार छान्न नेता पौडेलले आफूपक्षीय नेतासँग छलफल गर्दैछन् ।
आज शुक्रवार दिउँसो २ बसुन्धरास्थित दियालो फूडल्यान्डमा पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दैछ ।
केन्द्रीय कार्यसमितिले महाधिवेशनको संशोधित मिति पारित गरेपछि सभापतिका आकांक्षी देउवा र उपसभापति बिमलेन्द्र निधिले सक्रियता बताएका छन् ।
देउवा पक्षमा देउवा र निधि मात्रै आकांक्षी देखिएपनि पौडेल पक्षमा आधा दर्जन नेता सभापति पदका आकांक्षी रहेका छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङ सभापतिमा उम्मेदवार हुने चर्चा छ ।
सभापति देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरी सभापतिमा दोहोरिने बताएका छन् । निधिले समेत संस्थापनइत्तर पक्षका नेतासँग सोमवार छलफल गरी सभापतिमा सहयोग मागेका छन् ।
गत शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ १६–१९ गतेका लागि महाधिवेशनको मिति संशोधन गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।