काठमाडौं – मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौं पुगेका छन् ।
मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल विना विभागीयमन्त्री कुमार खड्कालाई साथमा लिएर शीर्ष नेताहरु भेट्न मंगलवार राति काठमाडौं पुगेका हुन् ।
मुख्यमन्त्री पोखरेल काठमाडौं पुग्नुअघि नै कांग्रेसबाट मन्त्रीका आकांक्षीहरु पनि शीर्ष नेताहरु भेट्न काठमाडौं पुगिसकेका थिए । मुख्यमन्त्री पोखरेलले काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई भेटेर प्रदेश सरकारमा मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताइएको छ ।
नेपालीले आज बुधवार शीर्ष नेताहरुसँग भेट्ने भएका छन् । मुख्यमन्त्री पोखरेल बिहीवार पोखरा फर्किने उनको सचिवालयले जनाएको छ ।
गत जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बीच गठबन्धन भएको हो ।
गठबन्धन बनाउने क्रममा दलको हैसियतअनुसार प्राथमिकताका आधारमा मन्त्रालय रोज्ने भनिएपछि कांग्रेसले अर्थ, माओवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको स्रोतले बताएको छ ।
कुराकानी गरेपछि कांग्रेसले अर्थ मन्त्रालय हरिशरण आचार्यलाई दिने सहमति गरेको थियो तर अहिले आएर कांग्रेसले जसपालाई अर्थ मन्त्रालय दिन नसक्ने भनेपछि उत्पन्न विवादका कारण मन्त्रीहरूको कार्यविभाजन रोकिएको छ भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन ।
अर्थ मन्त्रालयमा सरकारको प्रवक्ता समेत रहेका मन्त्री कुमार खड्काको पनि दाबी छ । तर अर्थ मन्त्रालय जसपालाई दिने लिखित सहमति गरिसकेकाले मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन । उनलाई आफ्नो निर्णय निल्नु न ओकल्नु भएको छ । उनले अर्थमा माओवादीको पनि दाबी देखाएर जसपालाई फकाउने प्रयास गरिरहेका छन् । तर जसपाले सहमतिअनुसार अर्थ मन्त्रालय नपाए सरकारबाटै बाहिरिने भनेपछि मुख्यमन्त्री पोखरेल अप्ठ्यारोमा परेका छन् ।
त्यति मात्र होइन, कांग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएपछि मुख्यमन्त्री पोखरेल थप अप्ठ्यारोमा परेका छन् । माओवादी केन्द्रले भने अर्थ मन्त्रालयमा कांग्रेस र जसपाबीच लिखित सहमति भएकाले यस विषयमा आफूले विवाद नगर्ने भन्दै आपसी छलफलबाट टुंगोमा पुग्न आग्रह गरेको छ ।
मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा परेको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल शीर्ष नेताहरुलाई भेट्न काठमाडौं गएको कांग्रेसका एक सांसदले बताए । मन्त्रिपरिषद् विस्तार र कार्यविभाजनमा देखिएको समस्या सुल्झाउने प्रयास भइरहेको विना विभागीयमन्त्री खड्काले बताए । उनले भने, ‘एउटा दलसँगको विवाद टुंगियो, अब अर्को दल माओवादी केन्द्रसँग पनि सहमतिको प्रयास भइरहेको छ ।’
केही दिनभित्रै मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार हुने दाबी उनले गरे । यसैका लागि सहमति जुटाउने प्रयासस्वरूप आफूहरु काठमाडौं गएको उनले बताए ।
कांग्रेस गण्डकी प्रदेशसभा सचेतक मणिभद्र शर्माले निकासकै लागि मुख्यमन्त्री काठमाडौं गएको हुनसक्ने बताएका छन् । ‘मन्त्रीको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको सही हो,’ शर्माले भने, ‘सायद यिनै समस्या सुल्झाउन मुख्यमन्त्रीज्यू काठमाडौं जानुभएको हुनसक्छ ।’
चाँडै समस्या सुल्झिने दावी गर्दै उनले भने, ‘शीर्ष नेताहरुसँगको भेटवार्ता नियमित नै हो तर यहाँ देखिएको समस्याबारे पनि छलफल हुनसक्छ ।’
कांग्रेसबाट मन्त्रीका आकांक्षीहरु शर्मा, ओमकला गौतम लगायतले शीर्ष नेतालाई भेटेको स्रोतले बताएको छ । मन्त्रीका आकांक्षी केही सांसद काठमाडौंमा शीर्ष नेतालाई भेटेर पोखरा फर्किसकेका छन् भने केही उतै रहेको स्रोतको दाबी छ । तर कांग्रेस सांसद शर्मा आफू मन्त्रीको आकांक्षी भएर काठमाडौं गएको स्वीकार्दैनन् । उनी नेताहरुसँग नियमित भेटका लागि आफू काठमाडौं गएको उनले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।