काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहकार्य छाडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य दलसँगको विपक्षी गठबन्धनलाई थप कसिलो बनाउने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
बिहीवार र शुक्रवार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष सम्मिलित गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री ओली विरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकतावद्ध रूपमा अगाडि बढ्ने निर्णय समेत गरेको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकपछि भने, ‘हामी चाहन्छौं लोकतन्त्रको रक्षा होस्, संविधानको रक्षा होस् र त्यसमा जो पार्टीहरु व्यक्तिहरू जोडिन चाहनुुहुन्छ, उहाँहरूलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउने छौं ।’
संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि प्रधानमन्त्री ओली विरुद्धको बृहत् मोर्चा एकतावद्ध बनाएर जाने निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री महतले बताएका छन् ।
‘ओली सरकारले लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम गरेका छन्, लोकतन्त्रमा र संविधानमा विश्वास गर्ने पार्टीहरु र समूहलाई जोड्दै एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ,’ उनले भने ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी, राजमो, माधव पक्ष र उपेन्द्र पक्षले समर्थन जनाउँदै गठबन्धन बनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।