काठमाडौं – मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिएसँगै अब गण्डकी प्रदेशमा नेपाली कांग्रेसको सरकार २ वर्ष ढुक्क भएको छ ।
शुक्रबार नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पोखरेलले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको छ ।
प्रस्तावको विपक्षमा नेकपा एमालेबाट २७ मत मात्रै खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित रहेका थिए ।
यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदा समेत एमाले २७ मतमै सीमित भएको छ । एमालेकै सहयोगमा चुनाव जितेका स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) कांग्रेस नेतृत्वको गठबन्धनमा लागेपछि एमाले हेरेको हेर्यै भएको छ ।
शुक्रबार प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि भएको मत विभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलले पेश गरिएको प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएपछि अब मुख्यमन्त्री पोखरेल २ वर्षका लागि ढुक्क भएका छन् ।
पोखरेल गत जेठ २९ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर अल्पमतमा पर्दा समेत अनेक जालझेल गर्दै पदमा टिकिरहेका एमाले नेता गुरुङले अन्ततः मुख्यमन्त्रीको पदबाट बाहिरिनुपरेको थियो ।
कांग्रेसका मुख्यमन्त्री पोखरेललाई नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद मनाङेले समर्थन गरेका छन् । कूल ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ मत चाहिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।