काठमाडौं – पार्टीभित्र विवाद चर्किएका बेला नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
एमाले प्रदेश संसदीय दलको सोमवार बसेको बैठकले निर्देशन (ह्वीप) उल्लंघन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओली समूहका ७ सांसदलाई निलम्बन गरेको छ ।
नेता माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेपनि ओली समूहका ७ सांसदले पार्टीको निर्देशन भन्दै विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गरेपछि संसदीय दला नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।
सोमवार बसेको दलको बैठकले केही सांसदलाई ७ र केही सांसदलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन् ।
संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरू समेत सहभागी रहेका थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली समूहका प्रदेशसभा सदस्य लिलाधर भट्टले दाबी गरे ।
सुदूरपश्चिम संसदीय दलमा नेता नेपाल र भीम रावल समूहका सांसदको बहुमत रहेकाले ओली समूहका सांसदमाथि कारवाही भएको हो । सांसद निलम्बनको निर्णयपछि एमालेमा विवाद झन् चर्किने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।