काठमाडौं – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दै ४ मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री पोखरेलसहित मन्त्रिपरिषद् ५ सदस्य बनेको छ । पोखरेल शनिबारै मुख्यमन्त्री नियुक्त भएका हुन् ।
पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्कालाई मन्त्री बनाइएको छ भने माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सांसद दीपक मनाङे मन्त्री बनेका छन् ।
मुख्यमन्त्री पोखरेलले नवनियुक्त मन्त्रीहरूलाई कुनै मन्त्रालय छुट्याएका छैनन्, अहिले सबैलाई विना विभागीय मन्त्री बनाइएको छ ।
यसैबीच, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेपालको संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त पोखरेलले शुक्रवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शपथ लिएका हुन् ।
मुख्यमन्त्री बन्ने लगातारको प्रयास तेस्रोपटक सफल भएको थियो । यसअघि कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएपनि गुरुङले राजीनामा दिएर मतदान हुन दिएका थिएनन् ।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षीले संविधानको धारा १६८(३) अनुसार सरकार बनाउने मौका पाएपनि स्पष्ट बहुमत पुर्याउन नसक्दा प्रयास असफल भएको थियो ।
जेठ २७ गते गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि नयाँ मुख्यमन्त्री छान्ने प्रक्रिया सुरू हुँदा स्वतन्त्र सांसद दिपक मनाङेको समर्थनमा कांग्रेसको सरकार बन्न सम्भव भएको हो ।
नेता पोखरेललाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ गरी ३१ जनाको समर्थन रहेको छ ।
पढ्नुहोस् मुख्यमन्त्री पोखरेलको जीवनी –
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व जिल्लाको प्रदेशसभा क्षेत्र १(१) बाट निर्वाचित भएका हुन् । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता बनेका उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
२००५ जेठ ५ गते तनहुँको राम्चे अर्थात् हाल ब्यास–११ मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्माबाट जन्मिएका पोखरेलको घरमै राजनीतिक पृष्ठभूमि रहेको थियो । पोखरेलका बुवा प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँ जिल्ला सभापति रहेका थिए ।
कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि २०४८ देखि २०६७ सम्म ४ पटक कांग्रेस नवलपरासीको सभापतिमा रहेका थिए ।
विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्र पुनर्स्थापनाको लागि भएका आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताएको इतिहास छ ।
२०२२ देखि २०२८ सालसम्म पोखरेलले पिता स्व. गोवद्र्धन शर्माका साथमा भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै पोखरेलले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास विषयको अध्यापन गराएका थिए । पोखरेलले विभिन्न विद्यालयमा प्रधानाध्यापकको भूमिकामा समेत काम गरेका थिए ।
२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भएर नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयले पोखरेललाई जुम्लाको शिक्षकमा सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर पोखरेलले अन्तिममा शिक्षण पेशा छाड्नुपरेको थियो ।
वकालत पेशामा रहेर नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका पोखरेलले प्रखर अधिवक्ताको रुपमा समेत गण्डकीमा परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित पोखरेलको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरु तनहुँ र नवलपरासीका जेलबाट छुटेका थिए ।
राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका पोखरेल एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष समेत रहेका छन् ।
भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल समेत पूरा गरेका छन् ।
यस्ता छन् पोखरेलको जीवनका प्रमुख घटनाक्रमहरू –
२०२२ देखि २०२८ – पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
२०२९ देखि २०३६ – काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन
२०३५ – विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
२०३६ – जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
२०३७ – निर्वाचन बहिष्कारका क्रममा जेल चलान
२०४६ – प्रथम जनआन्दोलनका क्रममा जेल चलान
२०४८ – सत्याग्रहका क्रममा जेल चलान
२०४८ – निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ बाट उम्मेदवार
२०४८–२०६७ – नेपाली कांग्रेस नवलपरासीको सभापति
२०६२/६३ – दोस्रो जनआन्दोलनका क्रममा जेल चलान
२०६७ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा निर्वाचित
२०७० – संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्ष तर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार भएपनि झिनो मतान्तरले हार
२०७४ – प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) मा निर्वाचित
२०७५ – गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित
२०७८ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।