काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारेर देश बचाउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई पार्टीले कडा निर्देशन दिएको छ ।
कांग्रेस पार्टीले शब्द फिर्ता लिई आत्मालोचना गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री ओलीलाई यसरी नै छाड्ने हो भने देश खाइदिने भएकाले ओलीलाई मारेर आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
नाथुराम गोड्से भारतमा महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् । सांसद वैद्यले नेपालमा आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
सांसद वैद्यले प्रदेशसभा बैठकमा भनेका थिए, ‘अहिले नेपालको परिप्रेक्ष्यमा कुरा गर्दाखेरी ओली यसरी आइराख्या छ, आफ्नो सत्ता बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । खाइदिन्छ है । त्यसैले मेरो आग्रह के भने कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ?’
सांसद वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति सार्वजनिक भएपछि ओली निकट नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले आपत्ति जनाएका थिए ।
बाँस्कोटाले लेखेका छन्, ‘केपी ओली नमारे कांग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षड्यन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन ? कांग्रेसको आधिकारिक भनाइ चाहिन्छ । एमालेहरू सचेत बन ।’
कांग्रेस प्रवक्ताले समेत सांसदको बोली आपत्तिजनक भएकाले आत्मालोचना गर्नुपर्ने बताए । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति नहुने प्रवक्ता शर्माले जनाए ।
प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।