काठमाडौं – गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन बिहीबार निर्णायक मानिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गायब भएका छन् ।
बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी नभएर सम्पर्कविहीन भएका सांसद मनाङेको मोबाइल नम्बर समेत ‘स्वीच अफ’ रहेको छ ।
सांसद मनाङे बस्ने गरेको पोखराको बुद्धचोकस्थित घरमा समेत उनी भेटिएका छैनन् । काजीपोखरीमा बहिनीसँग बस्ने गरेको भनिए पनि बहिनीको घरमा समेत मनाङे नभेटिएका स्रोतले जनाएको छ ।
मनाङेले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको विपक्षी गठबन्धनलाई सघाएर बहुमत पुर्याउने चर्चाबीच मनाङे गायब भएका छन् ।
कांग्रेस नेता पोखरेललाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अवस्थामा सांसद मनाङेको साथ पाएमा स्पष्ट बहुमत पुग्ने अवस्था छ ।
गण्डकीमा विपक्षी गठबन्धनसँग कांग्रेसका १५, माओवादी केन्द्रका (सभामुखबाहेक) ११, राष्ट्रिय जनमोर्चाका ३ मध्ये २, जनता समाजवादी पार्टीका २ र दिपक मनाङे १ गरी ३१ मत पुगेको छ । कूल ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसदको समर्थन भए पुग्छ ।
कुनै पनि पक्षमा बहुमत नपुगेर प्रदेशसभा विघटन हुने अवस्थामा आएपछि स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) ले विपक्षी गठबन्धनलाई सघाउने निधो गरेका छन् । मनाङे हाल एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका छन् ।
यसअघि गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुने दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएका थिए । त्यसपछि प्रदेशसभा स्थगित भएर विश्वासको प्रस्ताव निर्णयार्थ पेश हुन सकेको थिएन ।
यतिबेला कांग्रेस गठबन्धनलाई सहयोग गर्ने निधो गरेका मनाङे बुधवार साँझ भएको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी नभएका स्रोतले जनाएको छ । मन्त्री मनाङेले नै साथ छाडेपछि प्रदेश सभामा मुख्यमन्त्री गुरुङसँग एमालेका २७ सांसदको मात्र समर्थन बाँकी रहेको छ ।
नेकपा एमालेको समर्थनमा प्रदेशसभा सदस्य निर्वाचित सांसद तथा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले कांग्रेस नेतृत्वको गठबन्धनमा बहुमत पुर्याउने सहयोग गर्ने जनाएका छन् । बहुमत नपुगेर नयाँ सरकार नबन्दा प्रदेशसभा नै विघटन हुने अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनमा बहुमत पुर्याउन सहयोग गर्ने मनाङेले जनाएका छन् ।
एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने पूर्व सन्ध्यामा स्वतन्त्र सांसद समेत रहेका गुरुङले विपक्षी गठबन्धनलाई साथ दिने जनाएका छन् ।
मन्त्री गुरुङले प्रदेश सभामा आवश्यक बहुमत पुर्याउन सहयोग गर्ने जनाएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्ने भएका छन् ।
नेपाली कांग्रेस लगायत विपक्षी दललाई बहुमत पुर्याउन १ सांसद मात्रै आवश्यक रहेको छ । मन्त्री मनाङेले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा बहुमत जुट्ने देखिएको छ ।
मनाङेले आफ्नो साथ बहुमत पुर्याउने पक्षमा रहने नेकपा एमालेका सांसदहरु महेन्द्र थकाली र इन्द्रधारा विष्टसँगको भेटमा स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री गुरुङका पक्षमा एमालेका २७ सांसद मात्रै रहेका छन् । यस्तो अवस्थामा एमालेको पक्षमा बहुमत पुग्ने कुनै सम्भावना नरहेपछि गुरुङले कांग्रेसलाई समर्थन गर्ने जनाइएको छ । प्रदेशसभा विघटन हुन नदिन आफूले विपक्षीलाई सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।
गण्डकी प्रदेशमा मन्त्री मनाङेसहित प्रदेश सरकारको पक्षमा २९ र विपक्षमा ३० मत रहेको थियो । तर बहुमत जुटाउन ३१ मत आवश्यक पर्ने हुँदा सत्तापक्ष र विपक्ष दुवै गठबन्धन अल्पमतमा रहेका छन् । यस्तो अवस्थाले प्रदेशसभा विघटन हुने भएपछि प्रदेशसभा जोगाउन मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।