काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन् तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिँदैन ।
महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधवार प्रेस विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्याएका छन् ।
‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु – २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु ।’
पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउन खोजिएको भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे । ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्नु हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो,’ उनले भनेका छन्, ‘यसका लागि सबै जिम्मेवार हुनुपर्छ ।’
असार र साउन २ महिनाभित्र महाधिवेशनका लागि सबै तयारी गर्नुपर्ने भन्दै उनले महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमै गरिने जनाएका छन् ।
तर महाधिवेशनको तयारीमा जुट्नुपर्ने पार्टीका शीर्ष नेताहरु नै भदौमा महाधिवेशन गर्न नसकिने जनाउँदै विकल्प खोज्न अनौपचारिक छलफलमा जुटेका छन् । महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन लाग्नुपर्ने नेताहरु नै त्यसमै अड्को थापिरहेका छन् । जसले गर्दा बारा, बर्दिया, सप्तरी, भोजपुर, सिन्धुपाल्चोक सहितका कतिपय जिल्लामा अझै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढेको छैन ।
हालसम्म ४ लाख १९ हजार ९३९ नयाँसहित ८ लाख ३१७ जनाले क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन् । सदस्यता छानबिन समितिले त्यसको अन्तिम टुंगो लगाउने प्रक्रिया अझै थालेको छैन । महाधिवेशनको कार्यतालिका अनुसार यसअघि नै सदस्यता छानबिनको काम टुंगो लागिसक्नुपर्ने थियो । हालसम्म सदस्यता छानबिनको काम ठोस रुपमा अघि बढ्न सकेको छैन ।
नेता रामचन्द्र पौडेल सहितका संस्थापन इतर पक्षका नेता भने कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाउन थालेका छन् । जुनकुनै हालतमा पनि भदौभित्र महाधिवेशन गर्नुपर्ने बताउँदै नेता पौडेलले भने, ‘भदौभित्र कांग्रेस महाधिवेशन अनिवार्य छ । महाधिवेशन नगरे कांग्रेस सकिन्छ ।’
जतिसक्दो छिटो क्रियाशील सदस्यता टुंगो लगाएर महाधिवेशनको तयारीमा जुट्नुपर्ने भन्दै पौडेलले भने, ‘विवादका कारण कहीँकतै क्रियाशील सदस्यता वितरण अड्किएको छ र टुंगो लाग्ने अवस्था छैन भने त्यसलाई छाडेर पनि अघि बढ्नुपर्छ । वडाको निर्वाचन सुरू गर्नुपर्छ ।’
अर्कोतिर कोरोना भाइरसको बढ्दो संक्रमण र बर्खाको समयले महाधिवेशनका लागि बाँकी कार्य सम्पादन गर्न कठिन बन्दै गएको छ । कोरोना भाइरसको जोखिम रहेकै बेला कार्यकर्ताको स्वास्थ्यलाई जोखिममा राखेर महाधिवेशन गर्न नहुने धेरैको बुझाइ छ । महाधिवेशन भनेको निर्वाचन मात्र नभएर सिंगो संगठन सञ्चालनका लागि नीति निर्माण गर्ने थलो पनि भएको बताउँदै केन्द्रीय सदस्य कल्याण गुरुङले कोरोना भाइरसको संक्रमणमा कम नआए भदौमा महाधिवेशन सम्भव नरहेको औंल्याउँछन् । पार्टी नेता तथा कार्यकर्ता मात्र होइन, आम जनताको जनस्वास्थ्यमा जोखिम रहेका बेला लोकप्रियताका लागि मात्र महाधिवेशनको कुरा गर्न नहुने भन्दै उनले भने, ‘यो वर्ष बाढी पहिरोको जोखिम पनि बढी रहेको भनिएको छ । कोरोना र बाढीपहिरोको जोखिम कम भए मात्र भदौमा महाधिवेशन सम्भव छ ।’
साउन पहिलो हप्तासम्म क्रियाशील सदस्यता टुंगो लाग्यो र साउन १८ गतेबाट तल्लो तहको अधिवेशन सुरू हुँदा पनि भदौमा महाधिवेशन गर्न सकिने बताउँदै उनले भने, ‘होइन भने महाधिवेशन गर्न सम्भव छैन, त्यसको विकल्प खोज्नुपर्छ ।’
पार्टी नेता पौडेलले १ वर्षका लागि विशेष महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । तर गुरुङले कांग्रेसमा विशेष महाधिवेशन पार्टी विभाजन भएका बेला वा पार्टी सभापतिलाई हटाउन मात्र भएको बताउँदै थपे, ‘एउटा विशेष महाधिवेशनले मातृका कोइरालालाई हटाएर बीपी कोइरालालाई सभापति बनायो, अर्कोले सुवर्णशम्शेरलाई हटाएर बीपीलाई फेरि सभापति बनायो । यसमा सभापतिको निर्वाचन हुँदैन भन्ने पनि हुँदैन र संवैधानिक निकास पनि दिँदैन ।’
४ वर्षे कार्यकाल पूरा गरेर विधानको व्यवस्था अनुसारको थप १ वर्ष र संवैधानिक व्यवस्थाअनुसार थप ६ महिनाको समय उपयोग गर्दै आएको कांग्रेसले वैधानिकता जोगाउन संविधान संशोधनको सम्भावना पनि तत्काल छैन ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेबाहेक प्रतिनिधिसभा विघटन भएकाले संवैधानिक व्यवस्था संशोधन गर्ने ढोका बन्द भएको छ । अर्को विकल्प भने अन्य कुनै एउटा राजनीतिक दलसँग पार्टी एकता गरेर कानूनको छिद्र समाउँदै पार्टीको वैधता जोगाउन मात्र बाँकी रहने नेताहरु बताउँछन् । नेता पौडेलले भने बढ्दो संक्रमणका बीच महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।