काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच चर्किएको झगडा प्रहरी कार्यालयसम्म पुगेको छ ।
एमाले नेता तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एमालेकै प्रदेश सचिव राजेन्द्रसिंह रावलले प्रहरीमा जाहेरी दिएका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश सचिव राजेन्द्रसिंह रावलले मन्त्री सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधवार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसूर अन्तर्गत मुद्दा दर्ता गराएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएका छन् । सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमवार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लागेको छ ।
रावलले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री त्रिलोचन भट्ट विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले हातपात गरेको उजुरीमा उल्लेख छ ।
मन्त्री सोडारी नेकपा एमालेको माधव नेपाल पक्षीय नेता हुन् भने सचिव रावल अध्यक्ष ओली पक्षीय नेता रहेका छन् । दुवै पक्षबीच चर्किएको विवाद प्रहरी कार्यालयसम्म पुगेको छ । एमाले नेताले दिएको उजुरीको आधारमा मन्त्री सोडारी पक्राउ पर्छन् कि पर्दैनन् ? हेर्न बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।