काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानको स्वायत्ततामा अतिक्रमणको नियत राखेर षड्यन्त्र गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।
‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहित र बढावा दिनु निश्चय नै जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरू हाम्रो भरपर्दाे आधार हुन् । २०४६ सालको परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पतालहरू देशमा छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो । त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।’
भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकारवालासँग कुनै छलफल विना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रस्ट गरिसकेको कांग्रेसले जनाएको छ ।
‘गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस कामचलाउ सरकारलाई चेतावनी दिन दिन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।