काठमाडौं – नेकपा एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी रहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपनि दोस्रो तहका नेता घनिभूत संवादमा जुटेका छन् ।
राजधानी काठमाडौंको समिट होटलमा मंगलवार पार्टीको एकता कसरी जोगाउने भनेर दुबै पक्षका नेताहरू छलफलमा बसे । वार्तामा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए । बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका थिए ।
एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकताको पक्षमा छलफल भइरहेको बताए । ‘पार्टी एकताको पक्षमा सार्थक छलफल भइरहेको छ,’ नेता नेम्वाङले भने, ‘यो निरन्तर जारी रहन्छ ।’
अध्यक्ष ओलीले दोस्रो तहकै नेताहरुको पहलमा जेठ २३ गते २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्किन तयार रहेको भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । नेता नेपालले ओलीको प्रस्तावलाई जालझेल र षड्यन्त्रपूर्ण भन्दै अस्वीकार गरिदिएका छन् ।
ओली र नेपालीबीच तत्कालीन नेकपामा हुँदादेखि नै विवाद रहेको थियो । उनीहरुबीच पछिल्लो पटक बैशाख ३१ गते करीब ४ घण्टा संवाद भएको थियो ।
त्यो वार्ताकै आधारमा दुबै पक्षबाट ५/५ जना सम्मिलित एकता कार्यदल बनाइएको थियो । कार्यदलले काम थालेकै बेला नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेपछि एकता प्रक्रिया खल्बलिएको थियो ।
दोस्रो तहका नेता एकता हुनेमा अझै विश्वस्त देखिएका छन् । दुबै पक्षमा रहेका केही अतिवादीले ओली र नेपाललाई मिल्न अवरोध गरिरहेको उनीहरुको निष्कर्ष छ । एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने दुबै पक्षका दोस्रो तहका नेताको निष्कर्ष रहेको छ ।
यसैबीच, नेकपा एमाले नेता बामदेव गौतमले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै २०७५ जेठ २ गते कायम रहेको स्थायी कमिटी बैठक छिटोभन्दा छिटो बोलाउनुपर्ने प्रस्ताव गरेका छन् ।
नेता गौतमले मध्यमार्गी लाइन प्रस्तुत गर्दै जेठ २ गते कायम रहेको एमालेका २ वरिष्ठ नेता, ४ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ५ सचिव सहितको स्थायी कमिटीको बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयमा छलफल गरी सही मार्गदर्शन गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीको प्रस्तावमा जालझेल र कुटिलता भए पनि स्थायी कमिटी बैठक राखेर समाधान गर्नुपर्ने पक्षमा नेता गौतम देखिएका छन् ।
गौतम संयोजकत्वको एकता अभियानको बैठकले अध्यक्षको वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयोगका बाबजुद एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट आगडि बढाइने भन्ने विषय सकारात्मक भएकोे निष्कर्ष निकालेको छ ।
‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बाबजुद बुँदा नम्बर १ मा नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ,’ बैठकपछि गौतमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सोही बुँदामा एकताको पक्षमा उभिएको आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित रहने उनको भनाइ रहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।