काठमाडौं – नयाँ सरकार समीकरणको लामो अभ्यास भइरहेपनि आवश्यक बहुमत संख्या नपुगेपछि गण्डकी प्रदेशमा सभामुखलाई राजीनामा गराएर भएपनि बहुमत पुर्याउनेबारे छलफल अगाडि बढेको छ ।
बहुमत नभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार विरुद्धको नयाँ गठबन्धनमा नेपाली कांग्रेससँग १५, माओवादी केन्द्रसँग सभामुखसहित १२, जनमोर्चासँग २ र जसपासँग २ मतसहित ३१ मत रहेको छ ।
कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत ठ्याक्कै बहुमत हो । तर सभामुखले खुलेर समर्थन गर्न नसकिने भएकाले विपक्षी गठबन्धनसँग हाल ३० मत मात्रै छ । १ मतको अभावमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नबाट वञ्चित छन् ।
विपक्षी गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने र मुख्यमन्त्री गुरुङसँग पनि बहुमत नहुने अवस्थामा प्रदेशसभा विघटन भएर नयाँ चुनाव घोषणा हुने अवस्था आएको छ । यस्तो संकटको बेला विपक्षी गठबन्धनले सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा गराएर बहुमत पुर्याउने रणनीति अगाडि बढाएको छ ।
नेकपा माओवादी केन्द्रबाट सांसद निर्वाचित सभामुख अधिकारीले राजीनामा दिएमा विपक्षी गठबन्धनसँग आवश्यक बहुमत पुग्छ र कांग्रेस नेता पोखरेल मुख्यमन्त्री बन्न पाउँछन् । सभामुखको राजीनामाको विकल्पबारे माओवादी केन्द्रको संसदीय दलको बैठकमा छलफल भएको जनाइएको छ ।
सभामुखको राजीनामाको विकल्पमा जानुअघि मुख्यमन्त्री गुरुङले सर्वदलीय सरकारको प्रस्ताव ल्याएकाले विपक्षी गठबन्धनको नेतृत्वमा सर्वदलीय सरकार गठनबारे समेत छलफल गर्न सकिने माओवादी संसदीय दलका नेता हरि चुमानले जानकारी दिए ।
नेता चुमानले सभामुख अधिकारीलाई राजीनामा गराएर आवश्यक बहुमत पुर्याउनेबारे चर्चा भएकाले केन्द्रीय नेतृत्वसँग आवश्यक परामर्श लिएर निर्णय गरिने बताए ।
पहिलोपटक प्रदेश सभाको अभ्यासमा रहेकाले सभामुखलाई राजीनामा गराएर बहुमत पुर्याउनु उपयुक्त हुन्छ वा हुँदैन भन्नेबारे केन्द्र पार्टीबाट निर्देशन मागिएको उनले बताएका छन् ।
सभामुख अधिकारीले राजीनामा दिएमा बहुमत पुग्ने भएपनि राजीनामा दिइसकेपछि पनि कुनै प्रदेशसभा सांसद तटस्थ बसेमा वा फ्लोर क्रस गरेमा फेरि बहुमत पनि नपुग्ने र सभामुख पद पनि गुम्ने डर माओवादीमा देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।