काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूह सहभागी भएपछि अब जसपाको एकल सरकार रहेको २ नम्बर प्रदेशमा उथलपुथल हुने भएको छ ।
प्रदेशमा जसपा अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री लालबाबु राउत रहेका छन् भने मन्त्रीहरू ठाकुर समूहका समेत रहेका छन् । जसपा यतिबेला विभाजनको अवस्थामा पुगेको छ ।
ठाकुर समूह ओली सरकारमा गएपछि प्रदेश सरकार फेरबदलका लागि अध्यक्ष उपेन्द्र यादव शुक्रवार नै प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका छन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) मिलेर जसपा बनेको थियो । राजपाको नेतृत्व ठाकुरले गरेका थिए भने सपाको नेतृत्व यादवले गरेका थिए । अब जसपा ठ्याक्कै २ धारमा विभाजित भएको छ । २ नम्बर प्रदेश सरकार समेत राजपा र सपा मिलेर बनेको थियो ।
अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशमा राजपाबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहकार्यमा सत्ता टिकाउने कोसिस गरिरहेका छन् । तर कांग्रेसले प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन समर्थन गर्नुपर्ने माग उपेन्द्र यादवसँग गरेको छ । यसबीच नेता यादवले कांग्रेस र माओवादीका शीर्ष नेताहरूसँग भेटवार्ता समेत गरेका छन् ।
आगामी हप्ताभित्र ठाकुरनिकट मन्त्रीहरू हटाएर कांग्रेस र माओवादीका मन्त्री थप्ने तयारीमा अध्यक्ष यादव लागेका छन् । तर कांग्रेस र माओवादीबाट सहयोगको स्पष्ट संकट प्राप्त नभएकाले यादव अलमलमा रहेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गराउन मुख्यमन्त्री राउत समेत भित्रभित्रै सक्रिय भएका छन् । माओवादी स्रोतका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन ।
तत्कालीन राजपाबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री बनेका जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सरकारबाट बर्खास्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
तत्कालीन राजपाबाटै सामाजिक विकासमन्त्री बनेका नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री बनेका रामनरेश राय यादवलाई भने सरकारमा राखेर यादव समूहतिर तान्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।
कूल १०७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले सांसदलाई कारवाही गरेपछि अहिले १०४ जना सांसद रहेका छन् । तत्कालीन समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, नेकपा एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद रहेका छन् ।
प्रदेश सभाको अंकगणित अनुसार बहुमतले नीति तथा कार्यक्रम र बजेट पारित गराउन ५३ सांसदको समर्थन चाहिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।