काठमाडौं – कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक औषधि उपचार र अतिआवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ ।
तर निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले पर्साको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गरेका छन् । निषेधाज्ञामा एमालेका नेता कार्यकर्ताले कार्यक्रम गर्दा स्थानीय प्रशासन रमिते बनेको छ ।
नेकपा एमाले नेता तथा पूर्व सांसद राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफ्नो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन् । एमाले नेता गुप्ताले जेठ १७ गते पोखरिया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला सकेका छन् ।
नेता गुप्ताले जेठ १८ गते समेत पोखरिया नगरपालिका–९ शिवबर्वामा कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गराएका छन् ।
नेता गुप्ताले निषेधाज्ञामा भीडभाड गरेर चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्वीर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साका नेता विकास तिवारीले निषेधाज्ञामा औषधि किन्न आउने व्यक्तिलाई समेत रोकेर प्रहरीले कुटपिट र दुर्व्यहार गर्ने गरेपनि चुनावी कार्यक्रम गर्दै हिँडेका एमाले नेतालाई छुट दिनु आश्चर्यको विषय भएको बताए ।
एमाले नेताले निषेधाज्ञा उल्लघंन गर्दै गाउँमा भीडभाड गरेर आयोजना गरेका कार्यक्रमको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता तिवारीले लेखेका छन्, ‘निषेधाज्ञामा नेतालाई चुनावी कार्यक्रम गर्न सरकारले के छुट दिएको हो ? के नियम कानून सर्वसाधारण जनतालाई मात्र लाग्ने हो ?’
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेधाज्ञा अवधिमा कुनै पनि भेला, सम्मेलन र कार्यक्रम गर्न नपाइने दाबी गरे । ‘एमाले नेता गुप्ताले गाउँमा गरेको कार्यक्रमबारे मलाई जानकारी छैन,’ उनले भने, ‘यसबारेमा नेता गुप्तासँग म बुझ्छु ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।