काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुधबार गरेको छुट्टै बैठकले १४ औं महाधिवेशन तोकिएको मितिभन्दा सर्न नदिन दबाब दिने निर्णय गरेको छ ।
पौडेल पक्षका केन्द्रीय पदाधिकारी एवं सदस्यको बुधबार बसेको भर्चुअल बैठकले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेको छ ।
बैठकपछि नेता पौडेलले भने, ‘महाधिवेशन गर्नैपर्ने संवैधानिक संकट पार्टीसामु छ । प्रतिकूल परिस्थितिका बाबजुद कसरी महाधिवेशन गर्ने भन्नेबारे पार्टीभित्र छलफल हुनुपर्नेछ । आज हामीले महामन्त्रीमार्फत केन्द्रीय कार्यसमिति बैठक बोलाउन पहल गर्ने निर्णय गरेका छौं ।’
पार्टीको वैधानिक अस्तित्व रक्षा गर्न सम्भावित विकल्पबारे पार्टीभित्र खुला छलफल गर्न प्रस्ताव गरिएको नेता पौडेलले बताए ।
पौडेलले भने, ‘एकआपसमा बसेर महाधिवेशन गर्ने र संवैधानिक संकट टार्ने विषयमा खुला छलफल गर्न हामीले प्रस्ताव गरेका छौं ।’ संविधानले दिएको अन्तिम अवधि खेर फाल्न नहुनेमा अधिकांश केन्द्रीय नेताहरूले जोड दिएको पौडेलले बताए ।
पौडेल पक्षको बैठकमा अधिकांश नेताहरूले विवादित क्रियाशील सदस्यता थाँती राखेर भए पनि महाधिवेशन गर्न प्रस्ताव गरेका जनाइएको छ । बैठकले क्रियाशील सदस्यता छानबिन समितिबाट निर्विवाद रूपमा टुंगिएका सदस्यताको आधारमै महाधिवेशन गर्न सकिने विकल्पमा समेत छलफल गर्ने निर्णय गरेको हो ।
विवादित सदस्यता अर्को महाधिवेशनलाई थाँती राख्ने र क्रियाशीलमा सहमति गरेर पार्टीको वैधानिकता जोगाउनुपर्छ भन्ने निष्कर्ष निस्किएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
कोरोना महामारीका बेला बृहत् सभा सम्मेलन सम्भव नभएकाले प्रविधिको उच्चतम प्रयोग गर्ने विकल्पबारे समेत छलफल भएको उनले बताए । सदस्यता छानबिन समितिले तत्काल बाँकी काम सञ्चालन गर्ने, समायोजन रोकिएका जिल्लाबारे महामन्त्रीले सभापतिसँग छलफल गर्ने लगायतका निष्कर्ष बैठकले निकालेको जनाइएको छ ।
बैठकले पार्टीका आन्तरिक समस्या समाधानका विषयमा सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने नयाँ जिम्मेवारी महामन्त्री डा. शशांक कोइरालालाई दिएको छ । पौडेलले भने, ‘महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, समायोजन लगायत जति पनि समस्या छन्, त्यसबारे सभापतिसँग छलफल गर्ने जिम्मा महामन्त्रीलाई दिएका छौं ।’
नेपाली कांग्रेसको महाधिवेशन भदौ ७–१० गतेसम्मका लागि तोकिएको छ तर कोरोना महामारीका कारण उत्पन्न परिस्थिति र क्रियाशील सदस्यताको टुंगो नलागेका कारण महाधिवेशन अनिश्चित हुने सम्भावना छ ।
पौडेल पक्षको छलफलमा पूर्व महामन्त्री कृष्ण सिटौला नेतृत्वको समूहमा रहेका नेताहरू गगनकुमार थापा र प्रदीप पौडेल समेत सहभागी रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।